भू-मध्य सागरमा डुंगा दुर्घटना हुँदा ६५ जना प्रवासीको मृत्यु

  |   प्रकाशित :

काठमाडौं । भूमध्य सागरमा प्रवासीहरु चढेको एक डुंगा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ ।

दुर्घटनास्थलबाट १६ जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । यो डुंगा बिहीबार लिबियाबाट छुटेको र समुद्रमा उठेका ठूला छालका कारण दुर्घटना भएको जीवित व्यक्तिहरुले बताएका छन् ।

ट्युनिसिया नजिकको समुद्रमा यो डुंगा दुर्घटना भएको संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीले जनाएको छ । डुंगामा सवार अधिकांश व्यक्ति अफ्रिकाका रहेको बुझिएको छ । दुर्घटनाको जानकारी पाउनासाथ ट्युनिसिया सरकारले माछा मार्नेहरुले प्रयोग गर्ने डुंगा उद्धारका लागि पठाएको थियो ।

युएनएचसीआरको तथ्यांकअनुसार यो बर्षको पहिलो चार महिनामा मात्रै लिबियाबाट युरोपको बाटोमा पर्ने स्थानहरुमा डुंगा दुर्घटना हुँदा १६४ जनाको ज्यान गइसकेको छ । सबैभन्दा धेरै मानवीय क्षति भएको यो पछिल्लो दुर्घटना हो । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech