जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?

  |   प्रकाशित :

काठमाडौं । लोकसभा निर्वाचनबाट भारतको सत्ता चलाउन फेरि सत्तारुढ भारतीय जनता पार्टी नै चुनिएको खबर दिईरहेका नेपाली मिडियामा शुक्रबार अचानक अर्को ठूलो अपराधको समाचार फैलियो । 

७ करोड ६७ लाख ९४ हजार बराबरको भारतीय नक्कली नोट बोकेर तीन पाकिस्तानी नागरिक शुक्रबार बिहानै काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ओर्लिए । सो रकम लिन पुगे पटक–पटक जाली नोटको कारोबार गरी जेल बस्दै–निस्कँदै गरेका युनुस अन्सारी । भारी मात्रामा नक्कली भारतीय नोट भित्र्याउँदै गरेको सूचना पाएपछि नेपालको सुरक्षा संयन्त्रले नोटसहित त्यसमा संलग्नलाई तत्कालै क-यापझ्याप पा-यो । अन्सारीले भित्र्याएको नोट यति धेरै थियो कि प्रहरीलाई त्यस्ता नोट गन्न दुई घण्टाभन्दा बढी समय लाग्यो । 

कराँचीबाट जाली नोट बोकेर कतार पुगेका तीनजना पाकिस्तानीहरु कतार एयरवेजको क्युआर ६४४ विमानबाट काठमाडौं उत्रिएका थिए । राहदानी नम्बर एए १२४५४९४ वाहक ४९ वर्षीय मोहम्मद अख्तर, एआर २४०६४३२ वाहक ६७ वर्षीय नासिर उद्दिन र राहदानी नम्बर सीएन १८१२०३२ वाहक ३९ वर्षीय नादिया अनवरले बोकेको ७ वटा लगेजभित्र दुई हजार दरका ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ बराबरको नक्कली भारतीय रुपैयाँ थियो । नेपाली भूमी प्रयोग गरी तारान्तार नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने युनुस अन्सारी विमानस्थलमा सो रकम लिन आफैं पुगे । 

एआर २४०६४३२ वाहक ६७ वर्षीय नासिर उद्दिनका दुईवटा सुटकेश जब एक्सरे मेसिनमा हालियो, तत्कालै मेसिनले शंकास्पद बस्तु रहेको चित्र देखायो । कर्मचारीहरुले पनि शंकास्पद बस्तु रहेको संकेतसहित ती सुटकेश अगाडी बढाईदिए । ती सुटकेस निकै खँदिला भएकाले एक्सरे मेसिनमा दुईपटक चेक गरिएको थियो । दोस्रो पटक चेकजाँच गर्दा पनि शंकास्पद बस्तु रहेकै पाईएपछि कर्मचारीहरुले त्रिभुवन विमानस्थलका भन्सार प्रमुख गजेन्द्र ठाकुरलाई फोन गरेका थिए । 

त्यसपछि ती लगेजलाई भन्सार कार्यालयमा पु-याईयो । त्यहाँ पनि शंका लागेपछि भन्सारले विमानस्थल सुरक्षा कार्यालयलाई खबर गरेको थियो । लगेजभित्र निकै ठूलो मात्रामा नक्कली नोट फेला पारेपछि सुरक्षा कार्यालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई खबर ग-यो । प्रहरी प्रधान कार्यालय हुँदै विशेष व्युरोसम्म करोडौं नक्कली भारतीय मुद्रा विमानस्थलमा रहेको खबर फैलिएपछि प्रहरीले कोभर्ट अप्रेशन शुरु ग-यो । केही समयमै यो धन्दामा संलग्नहरु विमानस्थलबाटै धमाधम समातिए । 

भारतविरुद्ध काठमाडौं प्रयोग गर्ने ईस्लामाबादको ‘नापाक’ हर्कत !

आतकंवादलाई संरक्षण दिएका कारण भारतले लगातार आफुमाथि आक्रमक कदम चालेपछि यतिखेर ईस्लामावाद रक्षात्मक अवस्थामा पुगेको छ ।

पाकिस्तानविरुद्ध सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) बढी नै अनुदार मानिन्छ । सोही पार्टीले फेरि ५ बर्षका लागि भारतको सत्ता सम्हाल्ने जनादेश पाएपछि पाकिस्तान थप त्रस्त बनेको देखिन्छ । 

अर्कातिर, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन आयोजना गर्न पाकिस्तानले सकिरहेको छैन । भारतले विश्वास आर्जन गर्न नसक्दा पाकिस्तानले यतिखेर सार्कलाई नै बन्धक बनाईरहेको छ । 

फेब्रुअरी १४ तारिखका दिन पाकिस्तान आश्रित आतंकवादी संगठन जैश–ए–मोहम्मदले भारत प्रशासित काश्मीरमा आत्मघाती हमला गराई ४० भन्दा बढी भारतीय प्रहरीको हत्या गरेको थियो । यो आतंकवादी हमलापछि पाकिस्तानमाथि भारतले सैन्य कारबाही गर्न गरेको थियो ।

दुई देशबीच वायुयुद्धकै अवस्था सृजना भएपछि अन्तरराष्ट्रिय समुदायले तत्कालै यो अवस्था रोक्न भुमीका खेलेका थिए । पुलवामा हमलाका मुख्य योजनाकार मसूद अजहरलाई भारतको आग्रहमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अन्तरराष्ट्रिय आतंककारी घोषित गरिदिएको छ, जसलाई रोक्न पाकिस्तानले भरमग्दुर प्रयास गरेपनि असफल भएको थियो । 

यस्तो अवस्थामा, सार्कका अन्य मुलुकसँग भारतको दुश्मनी बढाउन पाकिस्तानले हरसम्भव कोशिस गरिरहेको छ । नेपालमा नक्कली भारतीय रुपैयाँसहित बारम्बार पाकिस्तानीहरु समातिने गरेका छन् । यो पटक त झन निकै ठूलो परिमाणमा नक्कली भारतीय रुपैयाँ समातिएको छ । लगभग प्रायोजित तवरबाटै समातिएको नक्कली भारतीय रुपैयाँको रहस्य भविष्यमा अवश्य खुल्दै जाला ।

तर तत्कालका लागि भने सार्कको अध्यक्ष नेपालले ईस्लामावादतिरै औंलो ठड्याउनुपर्नेछ । किनकी, सुरक्षा चुनौती सामना गर्न नेपालबाट सहयोग अपेक्षा गरिरहेको भारतमा नयाँ सरकार आउनासाथ किन कराँचीबाट कतार हुँदै पाकिस्तानीहरुले नेपालमा नक्कली भारतीय नोट भित्र्याए र त्यसलाई प्रहरीको कब्जामा पठाए ? यो विषय निकै गम्भीर छ । के पाकिस्तानले नेपाललाई भारतको विपक्षमा उभ्याउन यहाँ भारतविरोधी गतिविधी गरिरहको छ ? जसका कारण भारत काठमाडौंसँग चिढियोस र अनपेक्षित व्यवहार देखाउँदै फेरि नेपालीको चित्त दुखाओस !

कसको गोटी बन्दैछन् जाली नोटका 'सम्राट' युनुस अन्सारी !

युनुस अन्सारी जाली नोट तस्करीका पर्यायबाची नै हुन् । यो पटक उनी नाटकीय तरिकाले समातिएका छन् । यसअघि नक्कली नोट लिन आफैं विमानस्थल नजाने अन्सारी यो पटक किन गए ? कसरी सजिलै आत्मसमर्पणको शैलीमा पक्राउ परे ?

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रहरीले सार्वजनिक गर्दैगर्दा मिडियाका अघि कसरी उनी हाँस्दै बोलिरहेका थिए ? किन उनको अनुहारमा कुनै डर या प्रायश्चित थिएन ? 

यसअघि युनुस भारतीय पक्षको तारो बन्दै आएका थिए । बारम्बार आफु असुरक्षित रहेको बताउने गरेका युनुसमाथि काठमाडौंको जेलभित्रै भारतीय सुटरले गोली ठोकेका थिए । यति हुँदापनि युनुसले नक्कली नोटको कारोबार त छाडेनन् नै, भारतमा बढी नै राष्ट्रवादी रुझान बोकेको भारतीय जनता पार्टीले चुनाव जितेर बहुमतको सरकार बनाउँदै गर्दा भारतकै विरोधमा नेपाली भूमी प्रयोग गरी अर्को अपराध गरिदिए । 

यसअघि फल्स बटम बनाई लुकाएर नक्कली नोट ल्याउने गरेका अन्सारीले यो पटक किन सीधै सुटकेशमा खाँदीखाँदी नक्कली भारु नेपालको विमानस्थलमा झारिदिए ? यदी जेलभित्रै भारतीय सुटरको गोली खाएका अन्सारी त्यसयता नयाँदिल्लीको रणनीतिमा फसेका होईनन भने उनले पाकिस्तानै रणनीतिअनुसार काठमाडौं र नयाँदिल्लीको सम्बन्ध धमिल्याउने काम गरिरहेका छन् भनि बुझ्न गाह्रो हुँदैन ।

तर, आशंकाकै विषयचाहिँ यो पनि हुनसक्छ कि भारतले अन्सारीलाई पुरै गलाएको होस र नेपालमाथि दबाब सृजना गर्न उनै अन्सारीलाई प्रयोग गरी नक्कली भारतीय मुद्रा नेपाल भित्र्याउन लगाएको होस । तर कुनै पनि देशले आफ्नै मुद्रालाई असर पर्नेगरी यो हदसम्मको काम गर्ने कुरा पत्याउन चाहिँ सकिँदैन ।

कालो विगत !

पहिले पाकिस्तानीहरुले नक्कली भारतीय जाली नोटको कारोबार जति सजिलै गर्न सक्थे, अब त्यस्तो छैन । भारतले पछिल्लो समय जारी गरेको २ हजार रुपैयाँको नोटमा सेक्युरिटी फिचरमात्रै १८ वटा राखिएका छन् । नागरिकले सजिलै यस्ता नोट पत्ता लगाउन सक्छन् भने ठूलो बजारमा नभई साना र खुद्रा बजारमा मात्रै यस्तो नोट कारोबार हुनसक्छ । 

पूर्वमन्त्री एवं साविकको एमाले (हाल माओवादी र एमाले एकीकृत भई नेकपा बनेको छ,) का नेता सलिम मिया अन्सारीका छोरा युनुस अन्सारीले चाहिँ यस्तो अवस्था आईसक्दा पनि भारतीय जाली नोटको धन्दा छाडेनन् । नेपालमा टेलिभिजन समेत सञ्चालन गरेका अन्सारी नेपालमा नक्कली भारतीय नोट भित्र्याउने मुख्य व्यक्ति हुन । नेपालमा नक्कली भारु ल्याउने र विभिन्न सञ्जालमार्फत थोरै–थोरै परिणाममा भारततर्फ पैसा पठाउने धन्दाको नाईके नै अन्सारी रहेको सुरक्षा निकायको निष्कर्ष छ । 

भारतीय नक्कली नोट कारोबारमा पटक–पटक जेल पर्दै छुट्दै आएका अन्सारीले आफुले गल्ती नै नगर्दा पनि आरोप लगाएपछि यस्तो कारोबार थालेको बताउने गरेका छन् । वि.सं. २०७४ फागुन २ गते अन्सारी नक्कली भारु प्रकरणमै जेल परेर छुटेका थिए । जेलबाट छुटेको १५ महिनामै फेरि नक्कली भारुसहित पक्राउ परेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech