मृगौला रोगका केही लक्षण वा संकेत यस्ता छन्:

  |   प्रकाशित :

काठमाडौं । मृगौला मानव शरीरका सबैभन्दा महत्वपूर्ण अङ्गमध्ये एक हो । मृगौलाले सही ढंगबाट काम गर्न नसक्दा गम्भीर बिरामी हुन वा मृत्युसमेत हुन सक्छ । मृगौलाले शरीरमा उत्पन्न भएका हानिकारक र विषालु तत्वलाई छानेर पिसाबको माध्यमबाट फाल्ने काम गर्छ ।

यसले हाम्रो शरीरमा पानी, तरल पदार्थ, खनिज तथा सोडियम, पोटासियम जस्ता इलेक्ट्रोलाइट रासायनिक पदार्थको सन्तुलन कायम राख्ने काम गर्दछ । यसका साथसाथै मृगौलाले शरीरमा रगत बन्न, हड्डीलाई मजबुत राख्न, रक्तचाप नियन्त्रण गर्न, शरीरमा एसिडको मात्रा सन्तुलित राख्न जस्ता कामहरू गर्छन् ।

शरीरमा पानीको मात्रा कम हुँदा वा अन्य विभिन्न समस्याका कारण मृगौलामा रोग देखा पर्न सक्छ । गम्भीर मृगौलाको रोग, लामो समयसम्म पनि कुनै लक्षण वा संकेत बिनानै पनि हुन सक्छ । तसर्थ मृगौला रोगको लागि परीक्षण गर्नु जरुरी छ । मृगौलाका रोगका लक्षणहरू व्यक्ति व्यक्तिमा फरक पर्छन् ।

धेरै मृगौला रोगहरूमा पिसाबको मात्रामा कमी हुने पाइएको छ । पिसाब पोल्ने, पिसाब लागिरहने र पिसाबबाट रगत र पीप निस्किने समस्या देखा पर्न सक्छन् । कमजोरी हुने, चाँडै थाक्ने, ढाडको तल्लो भाग दुख्ने, शरीर दुख्ने, चिलाउने तथा खुट्टा बाउँडिनु मृगौला रोगको सामान्य लक्षण हुन सक्छन् ।

खान मन नलाग्नु, मुखमा असामान्य स्वाद आउनु मृगौला रोगि व्यक्तिले भोग्ने समस्या हो । मृगौलाले काम कम गर्न छाड्यो भने हाम्रो शरीरमा विषालु पदार्थको वृद्धि हुन्छ, जसले गर्दा हामीमा वाकवाकी लाग्ने र उल्टी आउने समस्या देखा पर्न थाल्छ ।

हाम्रो शरीरमा पानीको मात्रा कम भएर हुने मृगौला रोगमा अनुहार, पेट र खुट्टा सुन्निने जस्ता प्रायः देखिने लक्षण हुन् । अरु रोगले ग्रसित भएका बिरामीहरूमा मृगौलाले काम गर्न छोड्यो भने पनि शरीरका विभिन्न भाग सुन्निने समस्या देखिन सक्छ ।

सानो उमेरमा नै उच्चरक्तचाप हुनुको प्रमुख कारण मृगौलासम्बन्धी रोग हुन सक्छ । शरीरमा रगत कम भएर शरीर सेतो हुनुका साथै शरीरको छालामा गाढा कालो दागहरु देखा पर्न थाल्छ । यसले सास फेर्न गार्हो भएर छाती दुख्ने समस्या देखा पर्नुका साथै मानिस बेहोससम्म हुन सक्छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech