गगन थापाले उठाए सरकारको नियतमाथि प्रश्न

  |   प्रकाशित :

काठमाडौं । मंगलबार राजधानीमा नेपाल ट्रेड युनियन काँग्रेसको मुखपत्र श्रमिक पोष्ट विमोचन पछि बोल्दै नेपाली काँग्रेसका नेता गगन थापाले सरकारले संसदमा दर्ता गराएको विधेयकमध्ये सूचना प्रविधि विधेयक अहिलेसम्मकै सबैभन्दा खतरनाक विधेयक रहेको बताएका छन् ।

थापाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक व्यवस्थाको विपरित हुनेगरी ल्याएको यो विधेयक अहिलेसम्मकै सबैभन्दा खतरनाक रहेको बताएका हुन् । उनले राज्यका ओहोदामा बसेकाहरुलाई चित्त नबुझेकोखण्डमा आफैंले गठन गरेको निकायमार्फत् जोकोहीलाई पनि थुन्नसम्म सक्ने व्यवस्था रहेको विधेयकमार्फत् सरकारको नियत समेत प्रष्ट भएको बताए ।

सरकार तथा शक्तिमा रहेकाहरुको गतिविधिमाथि प्रश्न उठाउने नागरिक अधिकार समेत विधेयकले खोस्ने उल्लेख गर्दै थापाले विधेयकमार्फत् नागरिकको मुख थुन्ने प्रयास गरेको बताए । दुईतिहाई मत भएको सरकारसँग शासन गर्ने क्षमता नभएको र नियत पनि ठीक नभएको थापाले बताए ।

उनले भने, ‘यी विधेयकहरु ल्याउने क्रममा यदि सरकारको नियत असल थियो भने विगतका आन्दोलनका उपलब्धीलाई समेत कुण्ठित हुने गरी विधेयक नै ल्याउनु हुँदैन थियो । संसदमा दर्ता गराएको विधेयकबाट सरकारको नियत प्रष्ट भएको छ ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech