चोरी गरेको भन्दै नेकपाबाट निर्वाचित वडाध्यक्षको रामधुलाई, जोगाउन आएका प्रहरीको पनि भागाभाग

  |   प्रकाशित :

जुम्ला । जुम्लाका एक वडाध्यक्ष आफ्नै नगरवासीबाट कुटिएका छन्। नगरका जनताको भोटबाट स्थानीय तहको निर्वाचनमा वडाको प्रमुखमा निर्वाचित पातारासी गाउँपालिका ४ का वडाध्यक्ष कालीबहादुर रावत सार्वजनिक सम्पत्ति चोरीको आरोपमा आफ्नै मतदाताबाट कुटिएका हुन्। वडाध्यक्षको सुरक्षाका लागि खटिएको प्रहरी पनि समेत स्थानीयको निशानामा परेको छ। स्थानीयले प्रहरीलाई समेत लखेटेका छन्। स्थानीयले वडाध्यक्ष रावतमाथि जडीबुटी चोरी निकासी गरेर व्यक्तिगत लाभ लिएको भन्दै कुटपिट गरेका हुन्। 

लुमगाउँका स्थानीयले बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै रावतमाथि कार्यालयमै कुटपिट गरेका हुन्। कुटपिटका क्रममा वडाध्यक्षकोे कपडा समेत च्यातिएको थियो। घटना बुधबारको हो। स्थानीयले वडाध्यक्ष रावतविरुद्ध नाराबाजी गर्दै पदबाट राजीनामा दिन माग समेत गरेका थिए। 

सामुदायिक वनमा पाइने सेतोचिनी (खिरौँला) चोरी निकासीमा वडाध्यक्षको प्रत्यक्ष सहभागिता रहेको स्थानीयवासीको दाबी छ। जनप्रतिनिधि नै अवैध कारोवारमा संलग्न भएको आरोपमा गाउँ नै वडाध्यक्षको विरुद्धमा उभिएको हो। साथै वडाध्यक्षमाथि हातपात भएको विषयमा बुझ्न गएको प्रहरीमाथि पनि स्थानीयवासीले ढुङ्गामुढा गरेका छन्। 

डिल्लीचौर प्रहरी चौकीका इञ्चार्ज प्रेमबहादुर थापाले लुमगाउँका स्थानीयवासीले आफूहरुमाथि ढुङ्गामुढा गरेको बताए। सुरक्षाका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गामुढाका साथै हातपातसमेतको प्रयास भएको थापाको भनाई छ।

गाउँमा विवाद भएको समयमा नआउने प्रहरी वडाध्यक्षले बोलाउँदा गाउँ आएपछि लखेटेको स्थानीयको भनाइ छ। स्थानीय कालीबहादुर रावलले वडाध्यक्ष रावत जडीबुटी चोरी निकासीमा संलग्न रहेको जिकिर गरे ।

वडाध्यक्ष रावतले भने अवैध जडीबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको दाबी गरे। उनले स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासी रोक्न खोज्दा कालीबहादुर रावललगायतको टोलीले हातपात गरी कुटपिट गरेको सुनाए। हातपात गरी दुव्यवहार गर्दा गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलङ्गा बजारमा बस्दै आएको उनले बताए।

बागजाले सामुदायिक वनमा पाइने जडीबुटीको अवैध चोरी निकासी भएको सूचना स्थानीयवासीबाट आएकाले दुईपटक प्रहरी लिएर वनमा गएको उनको भनाइ छ। वडाध्यक्ष रावतले स्थानीयवासीले लगाएको आरोप न्यायिक निकायले दोषी ठहर्याए कानूनबमोजिम कारवाही भोग्न र वडाध्यक्षको पदबाट राजीनामा दिन तयार रहेको बताए। वडाध्यक्ष रावत तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech