नेपालको 'अमिताभ बच्चन' भन्दै भारतमा महानायक राजेशको चर्चा, शाहरुखसँग पनि मिल्यो केमेस्ट्री

  |   प्रकाशित :

काठमाडाैं। नेपालका महानायक राजेश हमाल भारतीय मिडियामा छाएका छन्। भारतको प्रमुख सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणले ‘ये हैं नेपाली सिनेमा के अमिताभ बच्चन’, २२ साल छोटी मोडल से की थी शादी शीर्षकमा हमालको चलचित्र यात्राको संघर्ष तथा सफलताबारे उल्लेख गरेको छ। साथै राजेश भारतमा समेत परिचित अभिनेता भएकाे पनि उल्लेख गरिएकाे छ।

हमाललाई भारतका महानायक अमिताभ बच्चन तथा बलिउड बादशाह शाहरुख खानसँग तुलना गर्दै आजतकले लेखेको छ, ‘राजेश एक यस्ता सुपरस्टार हुन्, जसलाई नेपालमा महानायकको उपमा दिइन्छ। ५५ वर्षको उमेरमा राजेशको चार्मिङ नेपालमा यस्तो छ कि, जस्तो भारतमा अमिताभ र शाहरुखको छ।’

परिवारको चाहना विपरित अभिनयमा लागेका राजेशले हासिल गरेको पहिचान केही वर्षको मेहनतको फल भएको समाचारमा उल्लेख छ। 

समाचारमा उल्लेख भएअनुसार राजेशले सन् १९८८ मा फिल्म ‘युगदेखि युगसम्म’बाट डेब्यु गरेका थिए। आफ्नो पहिलो फिल्मबाटै राजेशले दर्शकको मन जिते। त्यसपछि उनले फर्केर हेर्नु परेन। देउता, बसन्ती, हामी तीन भाई, गिरफ्तार, कर्मयोद्धा, शकुन्तलाजस्ता फिल्मबाट दर्शकमाथि छुट्टै छाप छोड्न सफल भए।

राजेशको पढाइदेखि अभिनयसम्मको यात्रा सजिलो थिएन्। परिवारको विरोधका बीच राजेशले फिल्मी क्षेत्रमा पाइला राखेका थिए। राजेशले भारतको पञ्जाब विश्वविद्यालयबाट एमए डिग्री पास गरेका थिए भने रुसको मस्कोमा आफ्नो पढाई पुरा गरेका थिए। 

समाचारमा राजेश पछिल्लो समय बहुचर्चित टिभी शो को बन्छ करोडपति होस्ट गरिरहेकोमा अमिताभसँग तुलना गर्दै लेखेको छ, ‘जसरी भारतमा अमिताभ बच्चन आम दर्शकका सुपरस्टार हुन, त्यसैगरी लोकप्रियता नेपालमा राजेश हमालको छ।’ 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech