कश्मीर मामिलामा नेपाललाई मुछ्न खोज्दै पाकिस्तान 

  |   प्रकाशित :

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति

काठमाडौं । जम्मु–कश्मीरलाई विशेषाधिकार दिने संविधानको अनुसूची ३७० खारेज गरेपछि भारतसँग क्रुद्ध बनेको पाकिस्तानले नेपाललाई कश्मीर मामिलामा मुछ्न खोजेको छ । 

बिहिबार बेलुकी पाकिस्तानका विदेशमन्त्री मकदुम कुरेशीले नेपाली समकक्षी प्रदीप ज्ञवालीलाई फोन गर्दै कश्मीर मामिलामा पाकिस्तानको समर्थन र भारतको विरोध गर्न आग्रह गरेका हुन् । 

कश्मीरमा भारतले एकतर्फी र अवैध निर्णय गरेको जनाउँदै पाकिस्तानी विदेशमन्त्री कुरेशीले भारतको कदम अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव विपरीत रहेको बताएका थिए । कश्मीर मामिलामा नेपालको सहयोग तथा समर्थनको अपेक्षा राखिएको पनि पाकिस्तान सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

पाकिस्तानी विदेशमन्त्री कुरेशीले फोन गर्नुभन्दा केही घण्टाअघिसम्म भारतीय विदेशमन्त्री एस जयशंकर नेपालमै थिए । जयशंकरले कश्मीरमा भारतीय कदमको विरोध नगर्न नेपालसँग आग्रह गरेको परराष्ट्र स्रोतले जानकारी दियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech