मुम्बई हमलाका 'मास्टरमाइन्ड' हाफिज सईदविरुद्ध पाकिस्तानी अदालतको आदेश

  |   प्रकाशित :

काठमाडौं । सन् २००८ मा गराईएको मुम्बई हमलाका गुरुयोजनाकार (मास्टरमाइन्ड) भनिने आतंकवादी हाफिज सईदविरुद्ध पाकिस्तानी अदालतले आदेश दिएको छ । 

लाहोर हाईकोर्टले प्रतिबन्धित संगठन जमात–ए–इस्लामी तथा फलाह–ए–इसानियतका प्रमुख सईदको विरुद्ध पेश गरिएको याचिकामाथि सुनुवाई गर्न मञ्जुरी दिएको हो । हाफिज सन् २००८ नोभेम्बर २६ का दिन आतंकवादीहरुले गरेको मुम्बई हमलाका मुख्य दोषी मानिएका छन् । सो हमलामा परी १७४ जनाको ज्यान गएको थियो भने ३०० भन्दा बढी मानिसहरु घाईते भएका थिए । 

उनै हाफिजविरुद्ध पाकिस्तानी अदालतले लाहोरस्थित आतंकवाद नियन्त्रण प्रहरी कार्यालयलाई सबै प्रमाणहरु पेश गर्न आदेश दिएको हो । हाफिजका वकिल एके डोगरले उनका विरुद्ध लगाईएका मुद्दा हटाउनका लागि एक याचिका दायर समेत गरेका थिए, सो विरुद्ध अदालतले मंगलबार आदेश दिएको हो । सो याचिकामा वकिलले हाफिजविरुद्ध राजनीतिक र अन्तरराष्ट्रिय दबाबमा मुद्दा दर्ता गरिएको उल्लेख छ । 

चरमपन्थी या राज्यका विरुद्ध गतिविधी गर्ने संस्थामा हाफिजको कुनै संलग्नता नरहेको जनाउँदै उनका वकिलले मुम्बई हमलामा हाफिजको संलग्नताबारे भारतले गरिरहेको दाबी तथ्यपूर्ण नरहेको पनि याचिकामा उल्लेख गरेका छन् । 

आतंकवाद प्रतिरोधी विभागका अनुसार हाफिज सईदविरुद्ध २३ वटा मुद्दा दर्ता गरिएको छ । यीमध्ये धेरैजसो मुद्दा प्रतिबन्धित एवं गैर–लाभकारी संस्थाहरुका लागि रकम जुटाउनमा केन्द्रित रहेको देखिएको छ । साथै हाफिजका अन्य सहयोगीको विरुद्ध पनि ५६ वटा मुद्दा दर्ता गरिएको छ ।

हाफिज नेतृत्वको 'फलाह–ए–इन्सानियत'माथि पाकिस्तान सरकारले प्रतिबन्ध लगाएको छ र उसका सबै 'कल्याणकारी' भनिने कार्यक्रमहरु पनि आफ्नो नियन्त्रणमा लिएको छ । 

लाहोरबाट गुजरांवाला जाँदै गर्दा हाफिजलाई गत महिना पाकिस्तान सरकारले गिरफ्तार गरेको थियो । मुम्बई हमलाका गुरुयोजनाकार हाफिज अहिले लाहोरको एक जेलमा छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech