‘जातीय छुवाछुतभन्दा बर्गीय छुवाछुत झन् खतरनाक बिभेद हो, देश भड्कालोमा जान सक्छ’

  |   प्रकाशित :


दाङ । मानिस/मानिस बिच देखिएको भेदभाव जातीय भावना भन्दा वर्गीय असमानता नै प्रमुख कारण हो । वर्गीय असमानताले जटिलता उब्जाउछ । एक आपसमा गर्ने व्यवहारमा फरक हुन्छ । धनि र गरिबको बिचमा भएको खाडल पुरा नभए सम्म भेदभाव रहिरहने छ । त्यसका अगाडि जातीय भेद गौण हो । समयअनुसार जातभात, छुवाछुत अन्त्य हुदैँ जान्छ । एकै पटक अन्त्य गर्न खोजे दुर्घटना हुन सक्छ ।

अहिलेसम्म स्थापित भएको संरचनालाई परिवर्तन गर्न समय लाग्छ नै तर मानिस शिक्षित हुदैँ जादाँ परिवर्तन हुँदै गएको देखिन्छ । हिजोको पुस्तासम्म छुवाछुत चरम सीमामा थियो तर आज धेरै कम भैसकेको छ आगामि पुस्ताको लागि जातीय छुवाछुत शब्द इतिहासमा सीमित हुनेछ । यसमा दुई मत छैन । मानिस शिक्षित हुँदै गएमा सबै कुरा बुझ्दै जान्छन् । कुनै पनि धर्ममा छुवाछुत हुदैन । हिन्दु धर्मलाई नबुझेर छुवाछुतको आरोप लाग्ने गरेको हो । नबुझेर छुवाछुत प्रथा चलेको हो किनकी हिन्दु धर्मको मुख्य श्रोत वेद नै हो । वेदमा कहि कतै छुवाछुत भन्ने छैन । बाचौँ र बचाउ भन्ने जस्तो पवित्र भावना वेदमा नै पाईन्छ । मानव/मानव बिच जातीय भेदभाव छैन । पछि गएर उपनिषदमा पेशाअनुसार जातभात विभाजन भएको पाईन्छ । हुनत कर्मअनुसार जातभात बिभाजन गर्नुलाई त्यति अस्वभाविक मानिदैन किनकी कर्मअनुसार भएको विभाजन पछि कर्म छोडिसके पछि त्यहि सधै लागु भईरहन्छ भन्ने छैन । कर्म समयअनुसार परिवर्तन गर्न सकिन्छ ।

वर्गीय भेदभाव हटाउन धेरै चुनौति छ । असमानता भएसम्म वर्गीय भेदभाव रहिरहने छ । जबसम्म मानिस आर्थिक हिसाबमा सम्पन्न हुदैन तबसम्म यी सबै कुरा रहिरहने छन् । आर्थिक असमानता कै कारण भेदभावले विकराल रुप नलेला भन्न सकिदैन । जातीय छुवाछुतभन्दा बर्गीय छुवाछुत झन खतरनाक बिभेद हो । यसले  समाजिक संरचना बिथोल्ने मात्र नभई सामाजिक कुरिति फैलाउनुको साथै मुलुकमा गृहयुद्ध हुने बढी सम्भावना हुन्छ । देश नराम्रोसंग भड्कालोमा जान सक्छ ।

यसको लागि समयमा आर्थिक असमानता हटाउनु पर्दछ । मुलुकले वहस जातियता तिर चलाउनु भन्दा आर्थिक प्रगति तिर चलाउनु जरुरी देखिन्छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech