कश्मीर मामिला : विवाद झिकेर आर्थिक विफलता छोप्न खोज्दै पाकिस्तान

  |   प्रकाशित :

काठमाडौं । भारत प्रशासित कश्मीरको विशेषाधिकार हटाएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पटक–पटक आक्रोशित बनेजस्तो देखिएका छन् । उनले तारन्तार भारतको आलोचना गरिरहेका छन् र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्सम्म कश्मीर मुद्दालाई पु-याईसकेका छन् । तर, उनलाई सफलता मिलेको छैन ।

भारतले ऐतिहासिक गल्ती गरेको र यही गल्ती नै कश्मीरका नागरिकले स्वतन्त्रता प्राप्त गर्ने अवसर भएको इमरानले बताउने गरेका छन् । उनले भारतीय सत्तारुढ दल भाजपालाई मात्र होईन, उसको भातृसंस्था राष्ट्रिय स्वयंसेवक दलमाथि समेत कटाक्ष गरेका छन् ।

भारतमा लोकसभा चुनावअघि इमरानले नरेन्द्र मोदी जीतका लागि कामना समेत गरेका थिए । तर, जब मोदी प्रधानमन्त्री भए, तब फेरि पाकिस्तानसँगको सम्बन्ध बिग्रियो ।

चुनावमा भाजपाकै जीतका लागि कामना गरेकाले पनि हुनसक्छ : इमरानले यतिखेर सो पार्टीको विरोध नगरी आरएसएसको विरोध गरिरहेका छन् । किनकी भाजपाकै विरोध गर्दा पाकिस्तानभित्रै उनीमाथि नरेन्द्र मोदीको जीतका लागि कामना गरेकोमा विरोध हुन सक्छ । 

यतिखेर पाकिस्तान गम्भीर आर्थिक परिस्थितिबाट गुज्रिरहेको छ । आर्थिक संकट बढ्दै जाँदा थेग्नै नसक्ने अवस्थामा पुग्ने र नागरिकको आक्रोश आफुमाथि पोखिने भएपछि इमरानले जानाजान कश्मीर मुद्दालाई असफलता ढाक्ने हतियार बनाईरहेको देखिन्छ ।

नागरिकको ध्यान आर्थिक संकटबाट मोडेर कश्मीर मामिलामा जोडिदिँदा सरकारमाथिको आलोचना पनि कम हुने भएकाले इमरान जानाजान यसो गरिरहेका छन् । 

तर, इमरानले जुन कुटिल खेल खेलिरहेका छन् : त्यसले पाकिस्तानी नागरिक सँधै कश्मीरमा अल्झिएर बस्ने देखिन्न । किनकी त्यहाँको आर्थिक संकटले हरेक पाकिस्तानीलाई हेरक छाकमा तनाव दिईरहेको छ । 

इमरान यो समस्या सल्टाउनुभन्दा कश्मीरको मुद्दा सजिलैसँग नछाड्ने गुड्डी हाँकेर बसेर छन् । हरेक हप्ता आधा घण्टा घरबाहिर निस्कन र कश्मीरको मुद्दालाई लिएर भारतविरुद्ध आवाज उठाउन इमरानले पाकिस्तानी नागरिकलाई आग्रह गरेका छन् । 

इमरानले भारतविरोधी यो कदमलाई एक राजनीतिक अभियान नै बनाउने कोशिस गरिरहेका छन् । पाकिस्तानीहरु यसअघि कश्मीरकै विषयलाई लिएर नाराजुलुस लगाउन घरबाट त्यति निस्कँदैन थिए ।

केही चरमपन्थी धार्मिक संगठनहरुले चाहिँ कश्मीरको आजादीका लागि भन्दै मानिसहरुलाई यस्तो फर्मान जारी गरी जबर्जस्ती भेला हुन लगाउने गरेका थिए ।

भारतका विरुद्ध यी सबै माहोल बनाउनुको अर्थ हो : संयुक्त राष्ट्रसंघमा जानुअघि अन्तरराष्ट्रिय दबाब बनाउन सकियोस । इमरानले सेप्टेम्बर २७ तारिखका दिन संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दैछन् । सवा अर्ब मुस्लिमहरुले यतिखेर कश्मीरको मामिलामा संयुक्त राष्ट्र संघको सहयोग अपेक्षा गरिरहेको इमरानले बताउने गरेका छन् । 

आर्थिक रुपले जर्जर बनेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आवश्यक स्थितिमा भारतसँग युद्ध नै लड्न तयार भएको समेत बताउने गरेका छन् । तर गिर्दो अर्थव्यवस्थाले जेलिएको पाकिस्तान युद्ध लड्ने अवस्थामा छैन भन्दा पनि हुन्छ । 

अर्कातर्फ इमरानले मुस्लिम नागरिक र मुलुकहरुको हवाला दिएपनि संयुक्त अरब ईमिरेट्ससँगै बहराईनले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्मान गरेका छन् ।

जबकी यी दुवै इस्लामिक राष्ट्र हुन् । तर पाकिस्तानलाई इस्लामिक राष्ट्रहरुबाटै कश्मीर मामिलामा यथेष्ट सहयोग भईरहेको छैन र लगभग एक्लिएको जस्तो देखिन्छ । हरेक मुलुकले यतिखेर भारतलाई एक ठूलो बजारको रुपमा बुझेका छन् र यसको फाईदा उठाएर आफ्नो मुलुकको हीत गर्न चाहन्छन् । 

तर पाकिस्तान यस्तो स्थितिमा छैन । आर्थिक संकट टाल्न उसले अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट सहायता लिएको छ । यस्तो चुनौती ब्यहोरिरहेको पाकिस्तानका प्रधानमन्त्री खान सेनाका प्रवक्तासँगै स्वर मिलाईरहेका छन् – "कश्मीर मामिला यत्तिकै छाडिँदैन, अन्तिम हदसम्म पाकिस्तान जान सक्छ ।"
(बीबीसी हिन्दीको सहयोगमा ।) 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech