कश्मीर मुद्दाबारे भारतविरुद्ध पाकिस्तानले फेरि लेख्यो संयुक्त राष्ट्रसंघलाई चिट्ठी

  |   प्रकाशित :

काठमाडौं । कश्मीर मुद्दाबारे पाकिस्तानले फेरि संयुक्त राष्ट्रसंघको सबैभन्दा शक्तिशाली निकाय सुरक्षा परिषदलाई  चिट्ठी लेखेको छ ।

विदेशमन्त्री शाह महमूद कुरैशीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका अध्यक्षलाई लेखेको पत्रमा भारत प्रशासित जम्मू–कश्मीरमा मावनअधिकारको अवस्था गम्भीर संकटपूर्ण रहेको र त्यहाँको अवस्था सर्वसाधारणका लागि कठिन रहेको उल्लेख गरेका छन् ।

यो जानकारी पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले वक्तव्य जारी गरेर दिएका हुन् । कश्मीरमा तीन हप्तादेखि लकडाउनको अवस्था रहेको र त्यसलाई तत्काल हटाउनु पर्नेमा विदेश मन्त्री कुरैशीले जोड दिएको वक्तव्यमा उल्लेख छ ।

पाकिस्तानले सुरक्षा परिषदसँग ‘भारत र पाकिस्तानमा संयुक्त राष्ट्रसंघ सैन्य अनुगमन समूहको संख्या दोब्बर बनाउन’ आग्रह गरेको छ । यस्तै अनुगमनकर्तालाई नियन्त्रण रेखा पारी जान भारतलाई सहमत गराउन पनि पाकिस्तानले सुरक्षा परिषदसँग आग्रह गरेको छ ।

पाकिस्तानका मानवअधिकार मन्त्री शीरिन मजारीले ट्वीट गरेर राष्ट्रसंघलाई लेखिएको पत्रबारे जानकारी दिएका छन् । उनले सो पत्र नै ट्वीट गरेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech