कश्मीरमा भारत सरकारले लगाए पुन: प्रतिबन्ध, व्यापक सुरक्षाकर्मी परिचालन

  |   प्रकाशित :

काठमाडौं । कश्मीरमा भारतीय सरकारले पुन: प्रतिबन्ध लगाएको छ । आज हुने प्रार्थनाका क्रममा प्रदर्शन हुनसक्ने आंकलन गरेर प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, जम्मुकश्मीर राज्यको राजधानी श्रीनगरसहित कश्मीर उपत्यकामा प्रतिबन्ध लगाएको हो । स्थानीय वासिन्दालाई समूहमा यताउता नगर्न सूचना जारी गरिएको छ ।

त्यसैगरी, कश्मीर उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीका ब्यारिकेड्स राखिएको छ । व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । भारतीय सेनाका प्रमुख विपिन रावत कश्मीरको भ्रमणमा जाँदै छन् ।

त्यसलाई पनि ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले जम्मु र कश्मीरको विशेष अधिकार खोसेसँगै २६ दिनदेखि कश्मीरको जनजीवत प्रभावित भएको छ ।

शुक्रबार पुन: प्रतिबन्ध लगाएपछि स्थिति असहज बनेको हो । केही क्षेत्रका टेलिफोन लाइन संचालनमा आएका छन् । इन्टरनेट भने अझै बन्द रहेको छ । कश्मीरका पूर्वमुख्यमन्त्रीसहित नेता तथा कार्यकर्तालाई अझै पनि हिरासत र नरजबन्दमै राखिएको छ ।

कश्मीरका वासिन्दाले विस्तारै विरोध प्रदर्शन गर्न थालेका छन् । कर्फ्यू हटाएको क्षेत्रमा स-साना प्रदर्शन भइरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech