घरबाट ननिस्कन आतंकवादीले धम्की दिएपछि कश्मीर फेरि तनावग्रस्त !

  |   प्रकाशित :

काठमाडौं । भारतले विशेषाधिकार खोसेपछि उत्तेजित भएका पाकिस्तान समर्थित आतंकवादीहरुले कश्मीरका जनतालाई घरबाहिर ननिस्कन र विद्यार्थीहरुलाई विद्यालय नजान धम्की दिएका छन् । 

सम्भावित आतंकवादी हमला निमिट्यान्न पार्न भारतले भारी सैन्य तैनाथी बढाएपछि कश्मीरको अवस्था सामान्य बन्दै गएको थियो । संविधानको अनुच्छेद ३७० हटाएपछि जम्मु–कश्मीरको सुरक्षा व्यवस्था कडा बनाईएको थियो । तर आतंकवादी समूह हिजबुल्लाहले घरदेखि विद्यालयसम्म धम्की दिएपछि अवस्था तनावग्रस्त बनेको हो । 

आतंकवादीहरुले स्थानीय व्यापारीहरुलाई व्यवसाय बन्द गर्न, ड्राइभरहरुलाई ट्याक्सी नचलाउन, मानिसहरुलाई घरबाट बाहिर ननिस्कन र बालबालिकालाई विद्यालय नजान फतवाकै शैलीमा फर्मान जारी गरेका छन्। आतंकवादीहरुले एक स्थानीय व्यापारीको गोली हानी हत्या नै गरिदिएका छन् । 

हिजबुलको नामबाट जारी पत्रमा कश्मीर घाँटीका सबै बजार बन्द गर्न पसलेहरुलाई पसल नखोल्न भनिएको छ । साथै, त्यहाँ चल्ने सबै सवारीसाधनको नम्बर आफुहरुसँग रहेको दाबी गर्दै हिजबुलले सवारीसाधन नचलाउन र चलाए आफुहरुले जलाईदिने चेतावनी दिएको छ । 

विद्यालयको पठनपाठनलाई लिएर पनि आतंकवादीहरुले चेतावनी जारी गरेका छन् । सडकमा स्कुल गईरहेकी कुनै बालिका या किशोरी देखिन नहुने भन्दै हिजबुलले उनीहरुको इज्जत खतरामा भएकाले घरमै बस्नुपर्ने धम्की दिएको छ ।

कश्मीर मामिलाबाट बिच्किएका आतंकवादीहरुले आम मानिसलाई निशाना बनाउन थालेका छन् । श्रीनगरमा पहचान गुलाम मोहम्मद नाम गरेका व्यापारीको गोली हानी हत्या गरिदिएको छ भने नागरिकमा त्रास फैलाउने गतिविधी बढिरहेको छ । 

आतंकवादी गतिविधी निस्तेज तुल्याउन भन्दै अहिले कश्मीरमा भारतीय सुरक्षा बल अलर्टमा रहेको छ । भारतीय सेना प्रमुख विपिन रावत सुरक्षा अवस्थाको जानकारी लिन शुक्रबार श्रीनगर पुगेका छन् । उनी आज शनिबारसम्म त्यहाँ बस्नेछन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech