नेपाल र चीनबीचकाे पछिल्लो सम्झौता : कुटनीतिक स्तर 'भीख दिने र लिने' तहमै पुगेको हो ? 

  |   प्रकाशित :

समझदारीपत्रमा हस्ताक्षर गर्दै नेपाल र चीनका अधिकारीहरु । 

काठमाडौं । आर्थिक र भौतिक विकासमा उत्तरी छिमेकीको बलियो ब्याकअप खोजिरहेको नेपाल र चीनबीच सोमबार भएको तीन सम्झौताले दुई देशबीचको सम्बन्ध भीख लिने र दिने स्तरमा गिरेको देखिएको छ । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका चीनिया समकक्षी वाङ यी बीच राजधानीमा सोमबार द्विपक्षीय बैठकपश्चात भएका सम्झौता नेपालीले अपेक्षा गरेभन्दा निकै तल्लो स्तरका र आर्थिक कुटनीतिका हिसाबले निकै फितलो खालका छन् । 

दुई मुलुकका प्रतिनिधीमण्डलबीच भएको छलफलपश्चात विभिन्न तीनवटा सम्झौता त भए, तर चीनका विदेशमन्त्रीको भ्रमणमा काठमाडौंले 'जे पनि माग्ने माग्ने' र 'बेइजिङले सस्तामस्ता कुरा दिने' स्तरमा दुई देशबीचको कुटनीति सीमित भएको छ । 


प्रधानमन्त्री केपी शर्मा ओली र चीनियाँ राष्ट्रपति सि जिनपिङ

हिजो (सोमबार) भएका सम्झौतामा चीनले मनाङमा अस्पताल बनाउन ३५ करोड रुपैयाँ सहयोग गर्ने, विपत् पीडितका लागि ५ हजार थान पाल सहयोग स्वरुप दिने र चिनियाँ भाषा पढाउन नेपालमा स्वयंसेवक शिक्षक उपलब्ध गराउने सहमति भयो । 

रेलमार्ग, फराकिला सडकमार्ग, जलविद्यूत, प्राविधिक क्षेत्रमा निकै ठूलो सहयोगको अपेक्षा राखेका नेपाली नागरिकका लागि पछिल्लो सम्झौता हात्तीको मुखमा जिरा समान भएको छ । अर्थसचिव राजन खनाल र चाइना डेभलपमेन्ट को–अपरेसनका उपाध्यक्ष देङ बोकिङबीच हस्ताक्षर भएको सो सम्झौतामा न नेपालीले चाहेबमोजिक रेलमार्गका कुरा परे, न त आर्थिक क्षेत्रमा ठूलो साझेदारीकै अपेक्षा नै पुरा भयो । 

चिनियाँ स्वयंसेवक शिक्षक उपलब्ध गराउने समझदारीमा त  शिक्षा तथा विज्ञान र प्रविधि मन्त्रयालका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले नै हस्ताक्षर गरेका छन् । तर नेपालका गल्लीपिच्छे खुलेका चीनियाँ भाषा पढाउने इन्स्टिच्युटहरुमाा हजारौं भाषा प्रशिक्षार्थीले प्रशिक्षण दिईरहेका बेला दुई देशबीच भएको यस्तो सम्झौता औपचारिकता र 'देखाउनका लागि मात्रै' हो भन्ने भान नागरिकमा परेको छ । 

हुन त चीनियाँ विदेशमन्त्री वाङ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण तयारी गर्न काठमाडौं आएको बुझिएको छ । यद्यपीः चीनियाँ राष्ट्रपति सी को नेपाल भ्रमणबारे अहिलेसम्म दुवै देशले औपचारिक र ठोस कुरा सार्वजनिक गरेका छैनन् । 

नेपालका राष्ट्रपति, प्रधानमन्त्री र दलका प्रमुखहरुसँग बाक्लो भेटघाट गरेको चीनिया विदेशमन्त्री वाङले पाल दिने, भाषा पढाउने शिक्षक पठाउने या अस्पताल खोल्न ३५ करोड रुपैयाँ दिने सम्झौता गर्नुको पछाडि नेपाल र चीनबीच 'निकै सस्तो स्तरमा लेनदेन हुन थालेको' संकेत मिल्छ । 

चिनियाँ विदेशमन्त्री वाङ यी । 

दिगो विकास लक्ष्य (एसडीजी) कार्यान्वयनका लागि आवश्यक लगानी जुटाउन सकस भोगिरहेको नेपालका लागि पछिल्लो चीनियाँ सहयोग लगभग 'औचित्यहिन' जस्तै छ । तर, सत्तारुढ दलका नेताहरुले चीनबाट भारी सहयोगको अपेक्षा गरिरहेको तथ्य कतै छिपेको छैन । 

चीनले यस्तो झिनामसिना सहयोगमा नेपाललाई अल्झाएर राख्दा उदयीमान छिमेकीहरुबाट लाभ लिने योजना समेत विफल हुनेतर्फ वर्तमान सरकारले ध्यान पु-याएको देखिँदैन । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech