चीनियाँ पालभित्र थुनियो 'राष्ट्रवाद' ! मेलम्चीको डेढ अर्ब रूपैयाँ धरौटी फिर्ताबारे चुइँक्क बोलेन सरकार

  |   प्रकाशित :

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छाडेर भागेको चीनियाँ कम्पनीले फिर्ता नगरेको डेढ अर्ब रुपैयाँबारे नेपाल सरकारले मौनता साँधेको छ । 

आइतबार नेपाल आएका चीनियाँ विदेशमन्त्री वाङ यीसँग केही करोड रुपैयाँ, केही हजार थान पाल र भाषा पढाउने चीनियाँ स्वयंसेवक पठाउनेबारे सम्झौता गरेको सरकारले चीनमै फसेको नेपाली बैंकको डेढ अर्ब रुपैयाँबारे किन मौनता साँध्यो ? यसबारे अहिलेसम्म सरकारी अधिकारीहरुले कुनै जवाफ दिएका छैनन् । 

यो पनि पढ्नुहोस : नेपाल र चीनबीचको पछिल्लो सम्झौता-कुटनीतिक स्तर 'भीख दिने र लिने' तहमै पुगेको हो ?

सन् २००९ मा चीनियाँ निर्माण कम्पनी चाईना रेल्वे कन्स्ट्रक्सनले २७ किलोमिटर सुरुङ तथा मुहान निर्माण गर्ने ठेक्का हात पारेको थियो । ठेक्का हात पारेपछि अनेक वहाना देखाएर कामै नगर्ने तथा तोकिएको समयभित्र आयोजनाको काम सक्न थप ४ अर्ब रुपैयाँभन्दा बढी रकम मागेपछि मेलम्ची खानेपानी विकास समितिले सन् २०१२ सेप्टेम्बर २५ मा ठेक्का तोडेको थियो । 

ठेक्का तोडिएपछि सो चीनियाँ निर्माण कम्पनीले भगौडाकै शैलीमा आयोजनास्थल छाडेको थियो । आयोजनामा ठेक्का हात पार्न चाइना कन्ट्रक्सन बैंकबाट ग्यारेन्टी ल्याएको सो कम्पनीले नेपालका विभिन्न बैंकबाट धरौटी रकम देखाएको थियो । चीनियाँ कम्पनीका लागि बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो धरौटी राखिदिएका थिए ।

यो पनि पढ्नुहोस : नेपालको अर्थतन्त्र सिध्याउने चिनियाँहरुको योजना विफल, प्रहरीले हात पा-यो ठुलो सफलता 

मेलम्ची खानेपानी विकास समितिले चीनियाँ ठेकेदारका लागि नेपाली बैंकहरुले राखेको धरौटी जफत ग-यो । तर नेपाली बैंकहरुमा चाहिँ चीनियाँ निर्माण कम्पनीले रकम दाखिला गरेन । चीनको हेनान उच्च अदालतमा मुद्दा नै प-यो । 

गत फेब्रुअरी १५ मा भएको बहसमा अदालतले नेपाली बैंकहरुलाई मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी गरेको सबुत प्रमाण पेश गर्न एक महिनाको समय दिएको थियो। लगत्तै दुबै बैंकले आफ्नो खाताबाट मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी दिएको प्रमाणका लागि आवश्यक सम्पूर्ण कागजात अदालतमा पेश गरे । 

चीनियाँ विदेशमन्त्री वाङ यी लाई मेरियट होटलमै पुगेर भेट गर्दै प्रचण्ड, प्रचण्डकै घरबेटी भनि चिनिएका शारदाप्रसाद अधिकारीले आयोजनाअन्तर्गत बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणका लागि करिब डेढ अर्ब रुपैयाँको ठेक्का हात पारेका छन् । 

चीनियाँ अदालतले मेलम्ची छाडेर भागेको चीनियाँ निर्माण कम्पनीलाई बैंक ग्यारेन्टीको पैसा फिर्ता गर्न आदेश दिइसकेको छ। आदेशअनुसार चीयिनयाँ ठकेदारबाट मेलम्ची जमानतको रकम भुक्तानीसँगै थप हर्जना समेत प्राप्त गर्नेछन् । यो रकम नेपाली रुपैयाँ करिव ९० करोड हुन आउँछ। हिमालयन बैंकले पनि ६६ करोड फिर्ता पाउने छ। 

यो पनि पढ्नुहोस : युरोपेली विज्ञहरु भन्छन-'रेलमार्गका नाममा चीनले नेपाललाई ऋणपासोमा फसाउन सक्छ !'

चीनकै अदालतमा मुद्दा जितेपनि ठेकेदारका लागि बैंक ग्यारेन्टी बसेको चाईना कन्स्ट्रक्सन बैंकले अहिलेसम्म सो रकम फिर्ता गरेको छैन । रकम फिर्ताका लागि सरकारले नै पहल गरिदिनुपर्ने अवस्थामा पुगेपनि चीनियाँ विदेशमन्त्री वाङ यी सँग यो विषयमा कुनै कुराकानी नभएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । 

बैंकहरुले तारान्तार सरकारलाई चीनसँग कुरा गरेर बैंकको रकम फिर्ता गरिदिन आग्रह गरिरहेका छन् । बैंकमा राखिएको रकम नेपाली नागरिकको भएको र चीनियाँ ठेकेदारले ठग्दा सर्वसाधारणको निक्षेप डुबेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech