एकताको काम टुङ्ग्याउन नेकपा सचिवालय बैठक बस्दै

  |   प्रकाशित :

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज (बुधबार) दिउँसो चार बजे बस्दैछ । 

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपश्चात बाँकी रहेको एकताका काम टुंग्याउन बैठक डाकिएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आज प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगको एकताबारे छलफल हुनेछ । 

नेकपाले यसअघि नै पार्टी एकताका महत्वपूर्ण कामहरु भने टुङ्गयाइसकेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर उपचारका क्रममा रहेकै बेला यसअघि भदौ ९ गते अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सचिवालय बैठक बसेको थियो।

दाहालको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री ओलीसहितको बैठकले गरेका जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सह–इञ्चार्जमा केही हेरफेर गरेको थियो। सो बैठकले पार्टीभित्र अनुशासन खस्कँदै गएकाले पार्टीभित्र छलफल गरेर मात्र हरेक विषय सार्वजनिक गर्ने निर्णय समेत गरेको थियो । 

प्रधानमन्त्री उपचारबाट फर्केपछि पहिलोपटक सचिवालयको बैठक बस्न लागेको हो। ओली उपचारका लागि सिङ्गापुर गएको दिन गत भदौ ५ गते पनि सचिवालय बैठक बसेको थियो।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech