विप्लवका ‘धुन्दुकारी’ छोरा पक्राउ

  |   प्रकाशित :

भरतपुर । चितवन प्रहरीले प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दलाई पक्राउ गरेको छ ।

प्रकाशलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिएका छन् ।
चितवन मेडिकल कलेजका विद्यार्थीलाई जबरजस्ती अगाडि सारेर प्रकाशले केहीदिनदेखि आन्दोलन चलाउँदै आएका छन् ।

प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ । उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीलाई पनि पक्राउ गरिएको शर्माले बताएका छन् ।

अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि प्रकाशसहितका विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशले सोही चितवन मेडिकल कलेजबाट एमबीबीएसको पढाइ निःशुल्क पूरा गरेका थिए ।

मेडिकल कलेजको बहाना बनाएर प्रकाशले आफ्नो बुबा विप्लव नेतृत्वको नेकपाको आन्दोलनलाई सहयोग गर्दै आएको आरोप छ ।

त्यति मात्रै होइन प्रकाशले मेडिकल सञ्चालकलाई भौतिक कारबाही गर्ने र मेडिकल कलेजकै गेटमा ल्याएर झुण्ड्याउनेसम्मको चेतावनी सार्वजनिक रुपमा दिइसकेका छन् । हर्कत र गतिविधिलाई नजिकबाट नियाली रहेको चितवन प्रहरीले प्रकाशलाई पक्राउ गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech