रोकिएको एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्यो 

  |   प्रकाशित :

काठमाडौं । विद्यार्थीहरुले अदालतमा रिट हालेपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षा गराउने बाटो खुलेको छ । 

तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भएअनुसारको ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था हुनुपर्ने, साझा प्रवेश परीक्षा हुनुपर्नेलगायत ८ सूत्रीय माग राख्दै विद्यार्थीहरुले काठमाडौं विश्वविद्यालय, बिपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन कार्यालयमा तालाबन्दी गरेपनि सर्वोच्च अदालतले परीक्षा गराउने बाटो खोलिदिएको हो । 

यसअघि भदौ २१ गतेका लागि तय भएको परीक्षा सर्वोच्चका न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले रोकिदिएको थियो । विद्यार्थी आयुष ओझाले हालेको रिटउपर अन्तरिम आदेश दिँदै यसअघि अदालतले प्रवेश परीक्षा गर्न रोक लगाएपनि आइतबार सर्वोच्चले नै सो आदेशलाई निरन्तरता दिन नपर्ने अर्को आदेश दिएको हो । 

सर्वोच्चका न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र डा. मनोज कुमार शर्माको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने फैसला गरेको हो ,।

प्रवेश परीक्षा नियमसंगत नभएको भन्दै सर्वोच्चमा रिट दायर गरेका विद्यार्थीहरुले आफ्ना माग पूरा नभएसम्म एमबिबिएस, बिडिएस, नर्सिङलगायतका मेडिकल शिक्षाका नयाँ भर्नाका लागि प्रवेश परीक्षा हुन नदिने बताउँदै आएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech