बर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउन पर्यटन विभागको आग्रह 

  |   प्रकाशित :

काठमाडौं । मौसम प्रतिकुल भएकाले बर्षा रोकिएपछि मात्रै आरोहीहरुलाई हिमाल आरोहण गराउन पर्यटन विभागले आग्रह गरेको छ । 

मौसम पूर्वानुमान महाशाखाले निरन्तर परिरहेको झरी अझै केहि दिन नरोकिने प्रक्षेपण गरेपछि विभागले पर्वतारोहण एजेन्सीहरुलाई आरोहण नगराउन र आरोहीहरुको सुरक्षामा ध्यान दिन आग्रह गरेको हो । 

‘केही दिन मौसम प्रतिकूल रहने पूर्वानुमान रहेको हुँदा पर्वतारोहण कार्य व्यवस्थापन गर्ने एजेन्सीहरूले आफूमार्फत विभिन्न हिमाल आरोहणका लागि एका सबै व्यक्तिहरूको सुरक्षित बसोबास तथा आरोहणको व्यवस्था मिलाउन हुन अनुरोध छ’, विभागले भनेको छ, ‘मौसमको अनुकूलताको ख्याल राखेर मात्र आरोहण कार्य गर्नु/गराउनु हुन अनुरोध छ ।’ विभागले जारी गरेको मौसम सचेततामा उल्लेख छ  । 

असोज २ सम्म मौसम प्रतिकूल हुने रिपोर्ट आएको उल्लेख गर्दै विभागअन्तर्गतको होटल तथा पर्वतारोहण डिभिजनले विभिन्न हिमाल आरोहणमा गएकाहरूको सुरक्षित बसोबास मिलाउन  सम्बन्धित एजेन्सीहरूलाई निर्देशन दिएको छ । साथै हिमाल आरोहणका निम्ति अनुमति लिएकाहरूलाई मौसमको अनुकूलता हेरेर मात्र त्यसतर्फ पठाउन पनि निर्देशन दिएको छ ।

अहिले हिमाल आरोहणको याम भएकाले आरोहीहरु अहिले नेपालका विभिन्न हिमालमा पुगेका छन् आरोहणका लागि जाने क्रममा छन् । अहिलेसम्म हिमाल आरोहणका लागि अनुमति लिएका, आरोहणमा गएका र जाने क्रममा रहेका आरोहीको संख्याबारे भने विभागले तथ्यांक खुलाएको छैन । 

स्वदेशी तथा विदेशी पर्वतारोहीहरूलाई पर्वतारोहण गराउने एजेन्सीहरूले पर्वतारोहीहरूको सुरक्षामा ध्यान नदिँदा अप्रिय दुर्घटना भई जनधनको क्षति हुने गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech