अमेरिकामा मोदीलाई न्यानो स्वागत, इमरानको अपमान !

  |   प्रकाशित :

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकामा भव्य स्वागत गरिएको छ उता, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई फितलो स्वागत भएपछि पाकिस्तानीहरुले नै उनको खिल्ली उडाउँदै अपमान गरेका छन् । 

हाउडी कार्यक्रममा सहभागी हुन नरेन्द्र मोदी टेक्सास राज्यको ह्युस्टन शहर पुगेका छन्, जहाँ उनीसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हजारौं भारतीय आप्रवासीहरुका अघि एकसाथ मञ्च शेयर गरे । ह्युस्टन शहरका चारैतिर भारतीय झण्डा लहराईएको थियो । 

अर्कोतर्फ, मद्दतका लागि आग्रह गर्दै पाकिस्तानी प्रधानमन्त्री खानलाई भने फितलो स्वागत भएको छ । ह्युस्टनमा मोदी र ट्रम्पले एकसाथ हजारौं भारतीय अमेरिकी नागरिकहरुका अघि सम्बोधन गरेपछि सामाजिक सञ्जालहरुमा खानको मजाक उडाइएको छ ।

भारतीय प्रधानमन्त्री मोदी अमेरिका पुग्दा त्यहाँ स्वागतका लागि अमेरिकी सरकारका कैयौं मन्त्री र सरकारी अधिकारीहरुको उपस्थिति थियो । उनीहरु मोदीलाई स्वागत गर्न विमानस्थल नै पुगेका थिए । रातो कार्पेट बिछ्याएर मोदीको भव्य स्वागत गरिएको थियो ।  

जबकी पाकिस्तानी प्रधानमन्त्री अमेरिका पुग्दा त्यस्तो स्वागत पाउनबाट बञ्चित रहे । इमरानको स्वागतका लागि विमानस्थलमा अमेरिकी अधिकारीहरुको खासै उपस्थिति थिएन । 

पाकिस्तानी पत्रकार नायला इनायतले एक ट्वीटमार्फत अमेरिकामा भारतीय र पाकिस्तानी प्रधानमन्त्रीको स्वागतलाई तुलना गर्दै एक भिडियो राखेकी छिन् । सो भिडियोमा भारत र पाकिस्तानका प्रधानमन्त्रीबीचको अन्तर देखाइएको छ ।

इमरान खानको स्वागतका लागि रातो कार्पेट त परको कुरा, अमेरिकी सरकारका कुनै प्रतिनिधी उपस्थिती नभएको खबर मिडियाहरुले सार्वजनिक गरेका छन् । 

इमरानको स्वागतका लागि केही पाकिस्तानी अधिकारीहरु सहभागी थिए । यस्तो अपमान भएपछि ट्वीटर प्रयोगकर्ताहरुले इमरान खानको एक मिम (व्यंग्यप्रस्तुती) शेयर गरिरहेका छन् ।

सो मीममा इमरान अनुहार छोपेर हाउडी मोदी कार्यक्रम हेर्न गएको व्यंग्य गरिएको छ । ह्युस्टनमा मोदी र ट्रम्पले करिब ५० हजार मानिसलाई एकसाथ सम्बोधन गरेका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech