घुस्याहा सिडिई गोइतलाई जेल हालियो

  |   प्रकाशित :

सप्तरी । कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार गोइत जेल चलान भएका छन्।

उच्च अदालत जनकपुर राजविराज इजलासले भदौ ३० गते थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न दिएको आदेशअनुसार सोमबार अदालतमा हाजिर भएका गोइतलाई राजविराज कारागारमा थुनामा पठाएको अदालतले जनाएको छ।

जिल्ला अदालतले गत जेठ ६ गते उनलाई ४ लाख रुपैयाँ धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो। जिल्ला अदालतको बेरितको आदेश बदर गर्दै गोइतले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए।

सोही मुद्दामा पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य ुबिपी यादवु भनिने विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल थुनामा छन्।

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित सडक निर्माण योजनाका लागि कीर्ते गरी उपभोक्ता समिति बनाएको तथा सरकारी कार्यालयको कागजात कीर्ते गरेको अभियोगमा यादव र मण्डल गत बैसाख ५ गते पक्राउ परेका थिए।

पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इञ्जिनियर रहेका बेला गोइतले राजपा नेपालका केन्द्रीय सदस्य एवं पूर्वसांसद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य मण्डलसँग मिलेर सरकारी कार्यालयको कागजात कीर्ते गरी भ्रष्टाचार गरेको अभियोग छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech