सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग

  |   प्रकाशित :

काठमाडौं । रुससँगको शीतयुद्धपछि आतंकवाद नियन्त्रणका नाममा विश्वभर युद्ध थोपर्दै आएको अमेरिकाले पछिल्लो पटक सिरियामा असली अनुहार देखाएको छ । 

अमेरिकी अतिक्रमणकै कारण इराकबाट जन्मिएर आगो झैं फैलिएको इस्लामिक स्टेट (आईएस) नामक खतरनाक आतंकवादी संगठनलाई निमिट्यान्न पार्न लडेका कुर्दिस लडाकुमाथि अमेरिकाले बेइमानी गरेको हो । कुर्दिसहरुले अमेरिकाकै सहयोगमा यसअघि आईएससँग लडाइँ गरेका थिए । कुर्दहरुको टर्कीसँग लामो समयदेखि वैमनश्यता छ । 


टर्कीले आक्रमण गरेपछि धुवाँमा रङ्गमङ्गिएको उत्तरी सिरियाको एक शहर । 

यही वैमनश्यताका कारण टर्कीले अहिले सिरियाली कुर्दहरुमाथि भयानक हमला गरिरहेको छ । तर आईएससँगको लडाइँमा साथ दिएको अमेरिकाले कुर्दहरुसँग गरेको पूर्व समझदारीअनुसार टर्कीलाई यो आक्रमणबाट पछि हट्न निर्देशन दिनुको साटो उल्टै आफ्नो सैनिक सिरियाबाट फर्काउन लागेको छ । यसले सिरिया संकट थप गहिरिने र आईएसविरुद्धको लडाईँ समेत थप कमजोर हुने देखिएको छ । 

अमेरिकाले एकाएक सिरियाबाट आफ्नो सैनिक फिर्ता लैजाने घोषणा गरेपछि टर्कीले कुर्द लडाकुबिरुद्ध वायु र स्थल आक्रमण तीब्र बनाएको हो । यस्तो अवस्थामा अमेरिकाले भने सिरियामा रहेका आफ्ना सबै सैनिक बाहिर निकालिरहेको छ । 

सिरियाली क्षेत्रमा अमेरिकाको सहयोगी रहेका कुर्द लडाकुहरुलाई सिध्याउन टर्कीले पछिल्लो आक्रमण गरेको हो । तर अमेरिकाले भने सिरियाको स्थायित्वकै लागि टर्कीले सैन्य आक्रमण शुरु गरेको दाबी गरेको छ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले कुर्दिस लडाकुहरुलाई आफुहरुले सहयोग गर्न नसक्ने, बरु उनीहरुले अब सिरिया र रुससँग सहयोग माग्न सक्ने अभिव्यक्ति दिएका छन् । 


इस्लामिक चरमपन्थी आतंकवादी संगठन इस्लामिक स्टेटसँग दृढतापूर्वक लडेका कुर्दिस महिला लडाकुहरु । यी लडाकुहरुहरुको वीरतालाई लिएर संसारभर चर्चा हुने गरेको छ ।

कुर्दिस लडाकुमाथि आक्रमण गरिरहेका टर्कीका सेनाको सामना गर्न आफ्ना सैनिक उत्तरी क्षेत्रमा बढीरहेको सिरियाले जनाएको छ । कुर्द बाहुल्य क्षेत्रमा टर्कीले गरिरहेको अमानवीय आक्रमणका कारण अहिलेसम्म १,३०,००० मानिसहरु विस्थापित भईसकेको र विस्थापितहरुको संख्या अझै बढ्न सक्ने संयुक्त राष्ट्रसंघले बताएको छ । 

गत हप्तामात्रै सीरियाली डेमोक्रेटिक फोर्सेज र कुर्द नेतृत्वमा आईएसविरुद्ध लडिरहेका लडाकुहरुले टर्कीको हमलाका कारण स्थिति बिग्रिए आफुहरुले चरमपन्थी संगठन इस्लामिक स्टेटका संदिग्ध लडाकुका परिवारको रक्षा गर्न नसक्ने बताइसकेका छन् । उनीहरुका अनुसार आइतबार नै इस्लामिक स्टेटसँग जोडिएका करिब ८०० मानिसहरु उत्तरी सिरियाको एक शिविरबाट भागिसकेका छन् । 

सिरियाबाट बख्तरबन्द गाडीमा फिर्ता हुँदै गरेका अमेरिकी सैनिकहरु । 

गत हप्तादेखि कुर्दिस लडाकुमाथि टर्कीले गरिरहेको हमलाको अन्र्तराष्ट्रिय क्षेत्रबाट चर्को आलोचना भईरहेको छ । सिरियामा इस्लामिक स्टेट विरुद्धको लडाइँमा सिरियाली डेमोक्रेटिक फोर्सेज पश्चिमी देशहरुको मुख्य सहयोगी थियो । अहिले टर्कीले कुर्दिस नेतृत्वमा रहेको यही शक्तिमाथि भीषण आक्रमण थालेको हो । 

टर्कीले कुर्दहरु चरमपन्थी भएको आरोप लगाएको छ र आफ्नो सिमाबाट ३० किलोमिटर सिरियातर्फ रहेका कुर्दहरुलाई धपाउन चाहेको बताउने गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech