कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो

  |   प्रकाशित :

काठमाडौं । आतंकवादमा भईरहेको लगानी अन्त्य गर्न भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले दिएको निर्देशन कार्यान्वयन गर्न समस्या भोगिरहेको पाकिस्तान फेरि संकटमा फसेको छ । 

हाल 'ग्रे लिस्ट'मा रहेको पाकिस्तानलाई त्यो भन्दा पनि खराब 'डार्क ग्रे' सूचीमा राख्न भारतले आर्थिक कुटनीतिक लबिईङ गरेपछि समस्या परेको हो । हाल पाकिस्तानलाई एफएटीएफले 'ग्रे लिस्ट'मा राखेको छ ।

यो पनि पढ्नुहोस : आतंकवादबारे पाकिस्तानले झुठ बोल्यो, एफएटीएफको 'ग्रे लिस्ट' मै रहने पक्कापक्की 

आफुले आतंकवादमा भईरहेको लगानी नियन्त्रणमा उल्लेख्य काम गरेको ब्यहोरासहित पाकिस्तानले आगामी शुक्रमबार एफएटीएफमा एक प्रतिवेदन पेश गर्दैछ । तर एफएटीएफले भने पाकिस्तानलाई थप 'डार्क ग्रे लिस्ट'मा राख्ने तयारी थालिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको खबरमा उल्लेख छ ।

एफएटीएफले पाकिस्तानबारे आगामी शुक्रबार अर्थात अक्टोबर १८ मा आवश्यक फैसला गर्नेछ । हाल कायम 'ग्रे लिस्ट'बाट बाहिर निस्कन खोजिरहेको पाकिस्तानलाई अहिलेसम्म कुनै पनि देशले समर्थन दिएका छैनन । हाल पेरिसमा एफएटीएफको बैठक बसिरहेको छ । तर पाकिस्तानलाई सो बैठकमा सहभागी अधिकांश देशले हालसम्म समर्थन दिने छाँटकाँट देखाएका छैनन् । 

के हो एफएटीएफको 'ग्रे' र 'ब्ल्याक' लिस्ट ?
 जी–७ समूहमा रहेका मुलुकहरुको पहलमा सन् १९८९ मा एफएटीएफको स्थापना भएको थियो । यो संगठनमा ३७ मुलुक सदस्य छन्, जसमा भारत पनि सहभागी छ ।
मुद्रा अपचलन र आतंकवादका क्षेत्रमा हुने लगानी नियन्त्रण गर्नु नै एफएटीएफको मुख्य उद्देश्य हो । यस्तो काम गर्न नसक्ने मुलुकहरुलाई एफएटीएफले खराब सूचीमा राख्ने गर्छ, जसका कारण ती देशले वित्तीय पारदर्शीतामा प्रश्नदेखि बैदेशिक लगानीसम्मका क्षेत्रमा समस्या ब्यहोर्नुपर्छ । 
एफएटीएफले यस्ता मुलुकहरुलाई 'ब्ल्याक' र 'ग्रे' गरी दुईवटा सूचीमा राख्ने गर्छ । 'ग्रे लिस्ट' मा परेका मुलुकहरुले अन्तर्राष्ट्रिय संस्थाहरुबाट सहायता लिन कठिनाइ ब्यहोर्नुपर्छ । 'कालोसूची'मा पर्ने मुलुकहरुमा चाहिँ अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्ने बाटो पूर्ण रुपमा बन्द गरिन्छ ।

एफएटीएफ स्रोतका अनुसार पाकिस्तानमाथि थप ठूलो कारबाही हुन सक्छ र उसलाई 'डार्क ग्रे लिष्ट'मा राख्ने सम्भावना निकै बढी छ । यसो भएमा पाकिस्तानका लागि एफएटीएफको यो अन्तिम चेतावनी हुनेछ कि उसले अन्तिम अवसरको राम्ररी सदुपयोग गरोस । अन्यथा, पाकिस्तान जुनसुकै बेला एफएटीएफको कालोसूचीमा पर्न सक्नेछ । 

एफएटीएफ बैठकमा अहिले देखिएको संकेतअनुसार कुनै पनि देशले पाकिस्तानको समर्थन नगर्ने अवस्था सृजना भएको छ । इस्लामाबादले आतंकवाद नियन्त्रणमा ठोस कदम नचाल्नु नै यसको प्रमुख कारण हो । 

यसैबीच आतंकवादविरुद्ध कारबाही गर्नका लागि पाकिस्तानलाई प्राप्त हुन लागेको सहायता राशीबारे पनि एफएटीएफ बैठकले फैसला गर्नेछ । यदी यो फैसला पाकिस्तानको विपक्षमा भएमा प्रधानमन्त्री इमरान खानको अपेक्षा थप धुलिसात बन्नेछ । पाकिस्तान 'ब्ल्याक लिस्ट'मा परेको अवस्थामा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकजस्ता वित्तीय संस्थाहरुबाट अनुदान तथा ऋण लिन मुस्किल पर्नेछ । 

हाल एफएटीएफको ग्रे लिस्टमा रहेको पाकिस्तानले यसबाट बाहिर निस्कन निकै कोशिस गरिरहेको छ । मुद्रा अपचलन नियन्त्रण र आतंकवादमा लगानी रोक्न एफएटीएफले पाकिस्तानलाई अक्टोबरसम्मको समय दिएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech