के कालोसूचीमा पर्नबाट जोगिएला पाकिस्तान ? पेरिसमा एफएटीएफको बैठक बस्दै

  |   प्रकाशित :

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा आज फाईनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) बैठक बस्दैछ । यो बैठकले पाकिस्तानलाई कालोसूचीमा राख्ने वा नराख्नेबारे निर्णय गर्नेछ । 

आतंकवादमा लगानी (टेरर फन्डिङ) र मुद्रा अपचलन (मनि लौन्ड्रिङ) सँग जोडिएका मामिला रोक्ने सवालमा असफल भईरहेको पाकिस्तानमाथि कालोसूचीमा पर्ने खतरा मडारिइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

एफएटीएफको बैठकमा चीन, टर्की र मलेसियाले पाकिस्तानलाई समर्थन गर्ने भएका छन् । हाल एफएटीएफको अध्यक्षता पनि चीनले नै गरिरहेको छ । यदी यो समर्थनले काम गरेमा पाकिस्तान हालकै 'ग्रे लिष्ट'मा रहिरहने सम्भावना रहनेछ । 

पाकिस्तानले भने मुद्रा अपचलन र आतंकवादमा लगानी रोक्न आफुले प्रभावकारी काम गरेको बताइरहेको छ । चीन, मलेसिया र टर्कीले पनि पाकिस्तानले गरिरहेको कामको सराहना गरेका छन् । तर भारतले भने पाकिस्तानलाई कालोसूचीमा राख्नुपर्ने सिफारिस गरेको छ । 

एफएटीएफमा ३६ देश सहभागी छन् । कुनै पनि देशलाई कालोसुचीमा नराख्नेबारे एफएटीएफका कम्तीमा तीन देशले समर्थन आवश्यक हुन्छ । अहिलेसम्म तीन देशले पाकिस्तानलाई दिएको समर्थन यथावत राखेका छन् । 

अहिले एफएटीएफले पाकिस्तानलाई ग्रे लिष्टमा राखेको छ । पाकिस्तान यो लिष्टबाट पनि बाहिर आउने कोशिसमा जुटेको छ । 'टेरर फन्डिङ' र 'मनि लौन्ड्रिङ 'रोक्न यो अन्तर्राष्ट्रिय नियामक संस्थाले पाकिस्तानलाई अक्टोबरसम्मको समय दिएको थियो । 

यो पनि पढ्नुहोस : कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो

यो पनि पढ्नुहोस : आतंकवादबारे पाकिस्तानले झुठ बोल्यो, एफएटीएफको 'ग्रे लिस्ट' मै रहने पक्कापक्की 

यो पनि पढ्नुहोस : आतंकवाद नत्याग्दा बार्षिक १० खर्ब गुमाउँदै पाकिस्तान, भारतीय कुटनीतिक लबिईङ 'सफल' !

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech