यो कस्तो संयोग ? भुइँचालो गएकै समयमा भाइटीकाको साइत जु-यो  

  |   प्रकाशित :

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो बर्षको भाइटीकाको साइत कात्तिक १२ गते मङ्गलबार बिहान ११ बजेट ५५ मिनेट जाँदा उत्तम रहेको जनाएको छ ।

१२ गते दिनभर टीका लगाउन बाधा नपरेपनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।

स्मरण रहोस : भाइटीकाका लागि उत्तम रहेको ठ्याक्कै यही समयमा विनाशकारी बारपाक भूकम्पको झट्का शुरु भएको थियो । वि.सं. २०७२ बैशाख १२ गते बिहान ११ बजेर ५५ मिनेटमै गोरखाको बारपाकलाई केन्द्रबिन्दु भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको हो । अहिलेसम्म पनि भूकम्पोत्तर पुनर्निमाण जारी छ । 

भाइटीकाको साइत भूकम्प गएकै समयमा जु-यो भन्नुको अर्थ सो समयमा फेरि भूकम्प आउँछ भन्ने चाहिँ होईन । तर टीकाको साईत र भूकम्प गएको समय एकै समयमा पर्नुलाई अनौठो संयोग चाहिँ मान्न सकिन्छ ।

यस वर्ष यमपञ्चक कात्तिक ८ गते शुक्रबारदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । कात्तिक ९ गते शनिबार काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ । 

कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । बिहान ११ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत्रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताए।

गाई, गोरु र आत्म(म्ह) पूजा भने कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । ११ गते बिहान ९ ः ४३ बजेसम्म औँसी तिथि पर्दछ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले जानकारी दिए । । यसै दिनदेखि नेपाल संवत् ११४० शुरु हुन्छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech