शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट १५ जनाको हत्या

  |   प्रकाशित :

बैंकक । दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । 

गत मंगलबार विद्रोहीहरुले याला प्रान्तका २ वटा जाँच चौकीमा आक्रमण गरेका थिए । सेनाका प्रवक्ता प्रमोट प्रोम-इनले आक्रमणका कारण १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

आक्रमणकारीले एम-१६ राइफल र सटगन समेत लुटेर लगेको जानकारी दिँदै उक्त क्षेत्रमा सैनिक परिचालन गरिएको र आक्रमणकारीको खोजी तिब्र बनाएको बताए । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले आक्रमणकारीलाई न्यायको कठघरामा ल्याइने बताएका रक्षा मन्त्रालयका प्रवक्ता कोङचीप तान्त्राभानिचले उल्लेख गरेका छन् ।

मलेसियासँग सीमा जोडिएको यस क्षेत्रमा सक्रिय विद्रोहीले बौद्धमार्गी बहुल थाई सरकारविरुद्ध सशस्त्र सङ्घर्ष गरेको वर्षौं भइसकेको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech