स्पेनिस ला लिगा : बार्सिलोनाको जितमा मेस्सीको ह्याट्रिक

  |   प्रकाशित :

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत गएराती भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । 

बार्सिलोनालाई फराकिलो गोलअन्तरले विजयी गराउन अर्जेन्टिनी स्ट्राईकर लियोनल मेस्सीले सेल्टाको पोष्टमा एक्लैले तीन गोल गरे । बार्सिलोनाकै घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा मेस्सीले दुईवटा फ्रिकिक र एउटा पेनाल्टीबाट उत्कृष्ट गोल गर्दै ह्याट्रिक पुुरा गरेका हुन् । 

२३ औं मिनेटमा जुनियर फिर्पोले प्रहार गरेको बल सेल्टाका डिफेन्डर जोसेफ आइडोको हातमा लागेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई गोलमा बदल्दै मेस्सीले बार्सालाई अग्रता दिएका थिए  तर ४२औं मिनेटमा सेल्टाका लुकास ओलाजाले उत्कृष्ट फ्रिकिक गोल गर्दै टीमलाई प्रतिष्पर्धामा फर्काएका थिए । 

लगत्तै ४६ देखि ४८ मिनेटको अन्तरमा लियोनल मेस्सीले सेल्टाको पोष्टमा लगातार दुई गोल गरिदिए । ४६औं र ४८औं मिनेटमा मेस्सीले प्रहार गरेको दुवै फ्रिकिक प्रहारलाई सेल्टाका गोलरक्षकले रोक्न सकेनन् । खेलको अन्तिम समयमा पनि बार्सिलोनाका सर्गियो बुस्केट्सले गोल गर्दै बार्सिलोनालाई ४–१ गोलअन्तरमा पु-याई विजयी गराए । 

सेल्टामाथिको फराकिलो जीतसँगै बार्सिलोनाले रियल मड्रिडलाई पछाडि धकेल्दै शीर्ष स्थानमा उक्लिएको छ । यसअघि रियलले एइबारलाई ४–० ले हराएको थियो । दुवै टिमको २५ अंक छ । रियल मड्रिडभन्दा बार्सिलोना दुई गोलले अघि छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech