जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति

  |   प्रकाशित :

पाकिस्तान । भष्ट्राचार आरोपमा जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई इमरान खान नेतृत्वको सरकारले उपचारका लागि विदेश जान अनुमति दिएको छ ।

पाकिस्तानी क्याबिनेटका एक मन्त्रीले सरिफको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चार हप्तासम्म विदेशमा बसेर उपचार गर्न अनुमति जानकारी दिए । यसअनुसार अब सरिफले देश छाडेको चार साताभित्र उपचार गराई पुनः स्वदेश फर्कनुपर्ने हुन्छ । 

कारागारमै रहेका बेला गम्भीर बिरामी परेको खबर फैलिएपछि सरिफलाई अदालतले केही दिनअघि अस्पताल लगेर उपचार गराउन आदेश दिएको थियो । जेलबाट उपचारका लागि भन्दै अस्पताल पुगेका सरिफ अति सघन कक्ष (आईसीयु) र चिकित्सकको व्यवस्थासहित आफ्नै घर फर्किएका छन् ।

उनका आफन्त र चिकित्सकहरुले स्वदेशको उपचार पर्याप्त नभएको ठहर गर्दै उपचारका लागि लण्डन लैजानुपर्ने बताएका थिए । पाकिस्तान सरकारले पनि लण्डनमा चार साता उपचार गरेर पुनः देश फर्कन सरिफलाई अनुमति दिएको छ ।

तीन पटकसम्म पाकिस्तानी प्रधानमन्त्री भईसकेका सरिफ भष्ट्राचारसम्बन्धी मुद्दामा दोषी ठहर भई अहिले जेल सजाय काटिरहेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech