चीनलाई झस्काउने गरी आयो हङ्गकङ्गको चुनावी परिणाम

  |   प्रकाशित :

काठमाडौं । हङकङमा भएको जिल्ला काउन्सिलको चुनावी परिणाम चीनलाई झस्काउने गरी आएको छ । 

चीनसँगको सुपुर्दगी सन्धीलाई लिएर विगत पाँच महिनादेखि आन्दोलनको भूमरीमा फसेको हङ्गकङ्गमा तनावकै बीच चुनाव भएको थियो । हालसम्म आएको चुनावी परिणामअनुसार लोकतान्त्रिक पक्षधरहरुले २७८ सिटमा जीत हासिल गरेका छन् भने चीन समर्थक ४२ उम्मेदवार मात्रै विजयी भएका छन् । 

लोकतन्त्रको माग गर्दै भईरहेको प्रदर्शनको प्रभाव हङ्गकङ्गको चुनावमा पनि राम्ररी नै परेको देखिएको छ । बेइजिङ पक्षधर विवादास्पद छवी भएका सांसद जुनिअस हो अनपेक्षित रूपमा पराजित भएका छन् । तर आन्दोलनको अगुवाई गरिरहेका नागरिक मानव अधिकार मोर्चाका नेता जिम्मी सामले चुनाव जितेका छन् । 

कुल ४०० जिल्ला परिषद सदस्यका लागि हङ्गकङ्गमा चुनाव भईरहेको हो । यो निर्वाचनमा करिब ३० लाख मतदाताले मतदान गरेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech