मेडिकल कलेज संचालकविरुद्ध ठगी मुद्दा मुद्दा चलाउने तयारी 

  |   प्रकाशित :

काठमाडौँ । मेडिकल कलेज संचालकविरुद्ध सरकारले ठगी मुद्दा चलाउने तयारी गरेको छ । मनपरी रुपमा असुल गरेको अतिरिक्त शुल्क फिर्ता गर्ने दिएको अन्तिम समय बितिसँगै सरकारले ठगी मुद्दाको तयारी गरेको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर कलेज सञ्चालकहरूलाई जिल्ला प्रशासन कार्यालयहरूमार्फत कारबाही गर्नेबारे छलफल गरेका छन् । छलफलको क्रममा दुबै मन्त्रीबीच ठगी मुद्दा चलाउने सहमति भएको बताइएको छ ।

शिक्षा मन्त्रालयले शुल्क फिर्ताका लागि कलेजहरूलाई दिएको निर्देशनको १५ दिने समयसीमा आइतबार सकिएको थियो । बढी शुल्क फिर्ता गर्न अन्तिमपटक समयसीमा दिएको समयमा पनि फिर्ता नगरेको कारण कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने मन्त्री पोखरेल बताए ।

गृहले शिक्षा मन्त्रालयलाई पत्राचार गरी राष्ट्रिय सतर्कता केन्द्रको छानबिन प्रतिवेदन झिकाएको छ। केन्द्रले १२ मेडिकल कलेजले करिब ३ अर्ब रुपैयाँ अवैध शुल्क उठाएको प्रतिवेदन प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र सम्पत्ति शुद्धीकरण विभागमा बुझाइसकेको छ। सोही प्रतिवेदन र विद्यार्थीले दिने उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले ठगी मुद्दा चलाउने गृह मन्त्रालयका तयारी रहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech