श्रीलंका : राष्ट्रपति राजापाक्षेले ३५ जनालाई राज्यमन्त्री बनाए 

  |   प्रकाशित :

कोलोम्बो । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोटाबाया राजापाक्षेले तीनजना उपमन्त्री र ३५ राज्यमन्त्री नियुक्त गरेका छन् । संसदको नयाँ निर्वाचनसम्मका लागि नियुक्त भएका मन्त्रीरुले बुधबार राजधानी कोलम्बोस्थित राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।  

राष्ट्रपति कार्यालयका अनुसार चमाल राजापाक्षेलाई रक्षा मन्त्रालय, जोन सेनेभिरत्नेलाई अर्थ तथा नीति विकास मन्त्रालय र सुशील प्रेमाजयनाथलाई अन्तर्राष्ट्रिय सम्बन्ध मन्त्रालयको जिम्मेवारी दिइएको छ। केहेलिया रामबुक्वेल्लालाई लगानी प्रवर्द्धन राज्यमन्त्री र अरुणीका फर्नान्डोलाई पर्यटन प्रवर्द्धन राज्यमन्त्री बनाइएको छ।

राष्ट्रपति राजापाक्षेले केही दिन अगाडि सहोदर दाइ एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई श्रीलंकाको प्रधानमन्त्री बनाएका छन्। अघिल्लो बुधबार निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजिनामा दिएपछि महिन्दा राजापाक्षे प्रधानमन्त्रीमा नियुक्त गरिएका हुन्।

सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले अहिलेको मन्त्रिपरिषद्लाई त्यतिबेलासम्मका लागि अन्तरिम मन्त्रिपरिषद्को दर्जा दिईएको छ । तत्कालीन सत्तारुढ दल युनाइटेड नेशनल पार्टी (युडीपी)का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका सजिथ प्रेमादासालाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे श्रीलंकाको राष्ट्रपति बनेका हुन्।

हिंसात्मक तमिल बिद्रोह नियन्त्रण गर्न राजापाक्ष दाजुभाईले निकै साहस देखाएका थिए । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech