भूकम्पपीडितले फेरि अनुदान पाउने, यस्ता छन् शर्त 

  |   प्रकाशित :

काठमाडौं । वि.सं. २०७२ बैशाखमा गएको गोरखा भूकम्पपीडितले फेरि अनुदान पाउने भएका छन् । हालसम्म अनुदान सम्झौता नगरेका, पहिलो किस्ता र दोस्रो किस्ता नलिएका भूकम्पपीडित लाभग्राहीलाई शर्तसहित पुनः अवसर दिएको हो । 

अनुदान लिनका लागि प्राधिकरणले विभिन्न शर्त समेत राखेको छ । तोकेको समयमा घर पुनर्निर्माण गर्ने प्रतिबद्धतासहित लाभग्राहीले सम्बन्धित स्थानीय तहको सिफारिस पेश गरेमा सरकारले अनुदान दिनेछ ।  

प्राधिकरणले २०७६ असार २१ गतेसम्म सम्झौता नगरेका र २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिई अनुदान वितरण स्थगन गरिएका लाभग्राहीलाई एक पटकका लागि सशर्त अनुदान लिने मौका दिएको हो । यसका लागि सम्बन्धित स्थानीय तहले घर पुनर्निर्माणको सुनिश्चितता गरी सिफारिस गर्नुपर्नेछ ।

यसपछि जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)ले आवश्यक छानबिन गरी जिल्ला पुनर्निर्माण सहजीकरण समितिमा अनुदान प्रस्ताव पेश गर्नुपर्नेछ ।

समितिले यसरी प्राप्त गरेका विवरण र सिफारिससमेत अध्ययन गरी सम्बन्धित लाभग्राहीबाट आफ्नो आवास तोकिएको समयसीमाभित्र पुनर्निर्माण गर्ने प्रतिबद्धता भएको पाएमा स्थगन गरिएको अनुदान उपलब्ध गराउन सक्ने जनाएको छ । यसरी लाभग्राही कायम भएकाले पहिलो किस्ता २०७६ पुस मसान्तभित्र र दोस्रो किस्ता २०७६ माघ मसान्तसम्म लिइसक्नु पर्नेछ ।

प्राधिकरणले यसअघि सयमसीमा तोकी अनुदान सम्झौता गर्न र किस्ता लिन आग्रह गर्दै आएको थियो । दोस्रो किस्ता लिने समय कात्तिक मसान्तसम्म तोकिएको थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित जिल्लाका सांसद, स्थानीय तहका जनप्रतिनिधि र लाभग्राहीको आग्रहका आधारमा फेरि एकपटक अवसर दिइएको बताए ।

प्राधिकरणले एकीकृत बस्तीका लाभग्राही, बस्ती स्थानान्तरण गर्नुपर्ने लाभग्राही, भूमिहीन लाभग्राही, जोखिम वर्गका लाभग्राही, काठमाण्डौ उपत्यकाभित्रका लाभग्राही एवम् छुट तथा पुनःजाँच सर्वेक्षणको लगत विश्लेषणबाट कायम हुने लाभग्राहीबारे फरक समयसीमा निर्धारण गरेको छ ।

आगामी पुस मसान्तभित्र लाभग्राही कायम गर्ने एवं टुङ्गो लगाउने, माघ मसान्तसम्म पहिलो किस्ता लिइसक्नुपर्ने, २०७७ वैशाखभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने र असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने छ । प्रबलीकरणमा परेका लाभग्राहीले पनि अन्तिम किस्ता अनुदान २०७७ असार मसान्तसम्म लिइसक्नुपर्ने छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech