आयोध्याबाट आएका भगवान रामचन्द्रका जन्तीलाई भव्य स्वागत

  |   प्रकाशित :

महोत्तरी । भारतबाट आएका भगवान रामचन्द्रका जन्तीलाई महोत्तरीमा भव्य स्वागत गरिएको छ । भारतको आयोध्याबाट प्रत्येक पाँच वर्षमा आउने भगवान रामका जन्तीलाई बुधवार राती महोत्तरीको मटियानी नाकामा भव्य स्वागत गरी नेपाल भित्र्याइएको हो ।

त्रेतायुगमा भगवान राम र माता सिताको जनकपुरमा भएको विवाहको स्मरण गर्दै प्रत्येक वर्ष हुँदै आएको रामजानकी विवाहपञ्चमी महोत्सवमा मटिहानी नगरपालिकाले समेत विशेष व्यवस्था गरेको थियो । भारतको अयोध्यामा हालै राम मन्दिर निर्माणको लागि भारतको सर्वोच्च अदालतले बाटो खुल्ला गरेपछि जनकपुरमा यस वर्ष विवाहपञ्चमी विशेष उल्लासका साथ मनाइँदै छ ।

धार्मिक र सांस्कृतिक महत्व बोकेको विवाहपञ्चमी उत्सव मनाउन महोत्तरीको मटिहानी नाका हुँदै नेपाल प्रवेश गरेको जन्तीलाई मटिहानी मठका मठाधिश जगरनाथ दास वैष्णव, प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, सुरक्षा निकायका प्रमुखहरु तथा मटिहानीका स्थानियहरुले भव्यताका साथ स्वागत गरेका हुन । स्वागतमा नेपाली सेनाको व्याण्डले विभिन्न धुनहरु बजाएका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech