५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित

  |   प्रकाशित :

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान भएको ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ ।

खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका हुन् । त्यस्तै कास्य पदक नेपालका हरि रिमालले जितेका छन् । पार्कीले १४ मिनेट ५४।२० सकेन्डमा निर्धारित दूरी पार गरेका थिए । योसँगै नेपालको स्वर्ण पदकको खातामा ३७ स्वर्ण पदक पुगेको छ ।

साइक्लिङका कारण आज र भोलि काठमाडौँका सडक प्रभावित हुँदै

सागअन्तर्गतको छोटो तथा लामो दूरीको साइक्लिङ हुने भएकोले काठमाडौँका विभिन्न सडकखण्डमा शुक्रबार र शनिबार अत्यावश्यक बाहेक सवारी साधन नचलाउन महानगरीय ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

कलंकी कोटेश्वर हुँदै भक्तपुरको जगातीसम्मको सडक खण्डमा साइक्लिङ हुने भएकाले अत्यावश्यक बाहेक सवारी नचलाउन ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको हो । उक्त सडक खण्डमा दुई दिन सर्भिस लेनमा मात्र सवारी चलाउन पनि प्रहरीले सूचना जारी गरेर भनेको छ ।

शुक्रबार कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्म साइक्लिङ हुनेछ। यस्तै, शनिबार कलंकी, सातदोबाटो, कोटेश्वर हुँदै सूर्यविनायकसम्म लामो साइक्लिङ हुने भएकाले उक्त दिन पनि सर्भिस लेनमा मात्र सवारी चलाउन प्रहरीले आग्रह गरेको छ ।

शनिबार कोटेश्वरबाट भक्तपुरको जगातीसम्म जाने सम्पूर्ण सवारीसाधनलाई जडिबुटी चोकबाट पेप्सीकोला, ब्यासी, कमल विनायकको रुट प्रयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech