नेकपामा नयाँ समीकरण, विद्या भण्डारीलाई प्रधानमन्त्री बनाउने तयारी, प्रचण्डलाई आपत

  |   प्रकाशित :

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा नयाँ समीकरण देखा परेको छ । सरकार, ब्युरोक्र्याट्स तथा पार्टीभित्र आफ्नो पकड क्षेत्र बलियो बनाउन लागि परेकी राष्ट्रपति विद्यादेवी भण्डारीका कारण नेकपाभित्र नयाँ समीकरणको अवस्था सिर्जना भएको हो । जननेता एवं पार्टीका तत्कालिन महासचिव मदन भण्डारीकी पत्नी विद्या अहिले आलंकारिक राष्ट्रपति पदमा छिन् । मदनको योगदान स्वरुप तत्कालिन नेकपा एमालेले उनलाई उक्त सर्वाेच्च पदमा आसिन गराएको हो । तर, उनी पछिल्लो समय निरन्तर शक्ति प्रयोगको शिखरमा छिन् । आलंकारिक भएर पनि कार्यकारीजस्तै भुमिकामा देखिइरहेकी छिन् ।

पछिल्लो उदाहरण दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच जिम्मेवार बाँडफाँड हुँदा साक्षी बस्नु । त्यस्तै उनले मन्त्रिपरिषद पुनर्गठनमा पनि भाग खोजेको देखिइसकेको छ । कर्मचारीतन्त्रमा पनि उनको हस्तक्षेप छर्लंगै बाहिर आइसकेको छ । यसले शीतल निवासबाट भण्डारीले नेकपा, सरकार र कर्मचारीतन्त्रमा बलियो पकड बनाइरहेको प्रष्ट हुन्छ । 

यो के का लागि भन्दा उनी अब प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्ने कसरतमा छिन् । विश्लेषकहरुका अनुसार राष्ट्रपतिको अस्वभाविक सक्रियताबाट नेकपाकै नेता हैरान छन् । केही दिनअघि एक अन्तर्वार्तामा विश्लेषक सौरभले नेकपामा ओलीपछि प्रचण्ड नभई विद्या वा अहिलेका उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रधानमन्त्री बन्न सक्ने खुलासा गरेका थिए । उक्त खुलासालाई अहिले नेकपाका नेताहरु समेत स्वीकार्न थालेका छन् । ईश्वर पोखरेलले जबजको वकालत गरिरहेकाले उनीप्रति ओली र भण्डारी सकारात्मक छन् । अर्काेतिर भण्डारी आफै अगाडि सरिन भने उनलाई कसैले रोक्न सक्ने देखिँदैन् । 

प्रधानमन्त्रीको पालो कुरेर बसेका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल भने यी कुराले तनावमा परेका छन् । यसलाई कसरीले सन्तुलनमा ल्याउने भन्नेबारे दुइ नेताबीच छलफल चलिरहेको छ । 

यता नेकपाका केही नेताहरु भने ईश्वर पोखरेललाई प्रधानमन्त्री बनाइए विद्या पार्टी अध्यक्ष बन्न सक्ने सम्भावना रहेको बताउँछन् । ‘ओलीले पार्टीमा आफ्नो पकड कुनै हालतमा छोड्ने देखिन्न । त्यसमाथि विद्या भण्डारीको सक्रियता झन चुनौतीपूर्ण छ’, माधव नेपाल निकट मानिने एक नेताले भने । 

यता ओली समूहका नेताहरु भने सबै परिस्थिती अनुकुल भएमा राष्ट्रपति भण्डारीले राजीनामा दिएर चुनावी मैदानमा समेत आउन सक्ने तर्क गर्न थालेका छन् । भण्डारीलाई झापाबाट चुनाव लडाउने ओली समूहको तयारी छ । यो बारेमा निर्वाचन आयोगसँग पनि परामर्श भइरहेको बुझिएको छ । 

त्यसैगरी राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा अवतरण गराउन वा कार्यकारी अधिकारसहित शक्तिशाली बनाउन ओलीले संविधान संशोधन गर्ने विकल्पबारे पनि छलफल भइरहेको ओली समूहका नेता बताउँछन् । यसो हुनुमा राष्ट्रपति भण्डारीको निरन्तरको दबाब र शक्ति भोग गर्ने लालसा रहेको नेताहरुको बुझाई छ । संविधान संशोधन गर्ने विषयमा ओली र प्रचण्डबीच कुराकानी समेत भइसकेको छ । 

अहिले नेकपाभित्र राष्ट्रपति भण्डारीको व्यवस्थापनलाई लिएर चौतर्फी चासो बढेको छ । दुबै अध्यक्ष आन्तरिक परामर्शमा छन् । माथिका दुबै विकल्प विद्या भण्डारीलाई उपचुनावमार्फत सांसद बनाएर प्रधानमन्त्री अथवा संविधान संशोधन गरेर राष्ट्रपतिलाई अझै शक्तिशाली बनाउने विषयमा नेकपामा आन्तरिक छलफल जारी नै छ । 
यसो हुँदा प्रचण्ड र माधव नेपाल समूह फेरि उपेक्षामा पर्ने निश्चित छ । यी समूहको अस्तित्व ओली वा भण्डारीकै छायामा पर्ने देखिन्छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech