बलात्कार र बेचबिखन मुद्दामा धरौटी मात्रै, ‘यो कुरा कसैलाई नभन्नू’

  |   प्रकाशित :

काठमाडौँ । जिल्ला अदालत सुनसरीले बलात्कार मुद्दामा हनुमान मन्दिर आश्रमका सिद्धबाबा कृष्णबहादुर गिरीलाई कानुनी धरातलबेगर धरौटीमा छाडेको भेटिएको छ । पीडितको किटानी जाहेरीका साथै आरोपलाई स्थापित गर्ने दुई फरक प्रमाण हुँदासमेत इजलासले धरौटीमा छाड्ने आदेश गरेको हो ।

साधनाका लागि भनेर आश्रममा बोलाएका गिरीले आफूलाई बलात्कार गरेको भनी एक पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यही उजुरीमाथिको अनुसन्धानपछि प्रहरीले दायर गरेको मुद्दाको सुनुवाइपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सिद्धबाबालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो तर आदेशका क्रममा लिइएका आधार र व्याख्याले न्यायाधीशलाई नै प्रश्नको घेरामा पारेको छ । अनुसन्धानका दौरान अपराधपीडितलाई संरक्षण गर्नुपर्ने प्रहरीले समेत हैरान पारेको र मुद्दा कमजोर बनाएको फेला पारेको छ ।

‘यो कुरा कसैलाई नभन्नू’
सोलुखुम्बुको साबिक जुबु गाविस स्थायी ठेगाना भएका चतरा बस्ने सिद्धबाबा रामकृष्णाचार्य वैष्णव कृष्णदास भनेर चिनिन्थे । उनले नियमित सम्पर्कमा रहेकी एक भक्तलाई गत कात्तिक ३ गते राति साढे ११ बजे फोन र म्यासेन्जरमा कल गरे । ती भक्त महिलाले रेस्पोन्स नगरेपछि रोमन अंग्रेजीमा ‘हेलो, मैले मौका दिएका बेलामा चुप किन रु’ भनी कुटीमा बोलाए । साधनाबाट प्राप्त हुने दीक्षाका लागि गुरुले अवसर दिएको ठानी उनी आश्रममा गइन् । पीडितको किटानी जाहेरीमा उल्लेख गरेको विवरणअनुसार सिद्धबाबाले आफ्नो कक्षमा लगेर ती महिलालाई ‘आफूले भनेअनुसार नगरे अनिष्ट हुने’ धम्की दिई चुप लागेर बस्न बाध्य बनाई बलात्कार गरे । त्यसपछि सिद्धबाबाले ‘यो कुरा कसैलाई नभन्नू, भने अनिष्ट हुन्छ’ भनेर फेरि धम्क्याए ।

घटनापछि डरले चुप लागेर बसेकी ती महिला काठमाडौं फर्किइन् । केही सातापछि श्रीमान्ले सिद्धबाबा र उनीबीच भएको म्यासेजको विवरण देखे जहाँ ‘शारीरिक सम्पर्क’ को कुरा उल्लेख थियो । अनि उनले सबै यथार्थ श्रीमान्लाई बताइन् । श्रीमान्को अग्रसरतामा ती महिलाले प्रहरीमा किटानीजाहेरी दिइन् । किटानी जाहेरीपछि प्रहरीले सिद्धबाबालाई पक्राउ गरी बयान लियो । आरोप अस्वीकार गर्दै बयानमा उनले भनेका छन्, ‘म त्रिदण्डधारी साधु संन्यासी हुँ । मैले अग्नि र स्त्रीलाई स्पर्शसमेत गर्नु हुँदैन ।’ 

सिद्धबाबाकै दाबीअनुसार एक वर्षदेखि एकोहोरो म्यासेज गरेको अनि शिष्य र भक्तजनले समेत आग्रह गरेको हुनाले एकपटक फोनमा कुरा गरेका हुन् । भोला बराल भन्ने व्यक्तिको फोनबाट भएको कुराकानीमै सिद्धबाबाले ‘मबाट एक पटक गल्ती भयो, माफ पाऊँ, अब त्यस्तो हुँदैन, भयो भने म लिंग नै काटेर फालिदिन्छु’ भनेका थिए । उक्त कल रेकर्ड सिद्धबाबाकै भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भयो । प्रहरीले बलात्कार गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता गरायो । त्यही मुद्दामा जिल्ला न्यायाधीश उप्रेतीले सिद्धबाबालाई धरौटीमा छाड्ने विवादास्पद आदेश गरेका हुन् । कान्तिपुर दैनिकबाट

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech