धनुषामा कुल्चिएर मारिएका  दिलिप महतोलाई शहीद घोषणा गर्न तरुण दलको माग 

  |   प्रकाशित :

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले धनुषामा फलामे रडले हानेर कुटपिट गरी टिपरले कुल्चिएर हत्या भएका नेपाल तरुण दल मिथिला नगर समितिका सदस्य दिलीप महतोलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

अध्यक्ष बस्नेतले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर राष्ट्रिय सम्पत्तिको सुरक्षाका क्रममा अपराधीहरूबाट हत्या गरिएका तरुण सदस्य महतोलाई शहीद घोषणा र आश्रित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका हुन् ।

‘शुक्रबार बिहान ४ बजे नेपाल तरुण दल मिथिला नगर समिति धनुषाका सदस्य दिलिप महतोलाई औरही खोलामा फलामे रडले कुटपिट गरी बालुवा ओसार पसार गर्ने टिपरले च्यापेर नृसंस र दर्दनाक ढंगबाट मारेको घटनाले नेपाल तरुण दलको गम्भीर ध्यान आकृष्ट भएको छ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘औरही खोलामा अबैध तरिकाले बालुवा उत्खनन् गर्ने गिरोहद्वारा उक्त अमानवीय र भित्स हत्या भएको हुँदा नेपाल तरुण दल त्यस घटनामा संलग्न अपराधीहरूलाई अविलम्ब पक्राउ गरी कानूनी कारबाही गर्न, मृतक दिलिप महतोलाई शहीद घोषणा गर्न र आश्रित परिवारलाई राहत प्रदान गर्न सरकारसँग जोडदार माग गर्दछ’, तरुण दलको विज्ञप्तिमा भनिएको छ ।

‘सर्वसाधारण जनताले सार्वजनिक सम्पत्तिको रक्षा गर्न खोज्दा आफ्नो ज्यानै गुमाउनुपर्ने अवस्थाले देशमा बिग्रदो शान्ति सुरक्षाको लागि सरकार जिम्मेवार भएको हुँदा जनताले बाँच्न पाउने भरपर्दो वातावरण सिर्जना गर्न पनि नेपाल तरुण दल सरकारसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘अपराधीहरूलाई अविलम्ब हदैसम्मको कारबाही गरी मृतकलाई शहीद घोषणा र पीडित परिवारलाई राहत प्रदान नगरिए दल जनताको जिउ ज्यानको सुरक्षाको लागि आन्दोलनमा जान बाध्य हुने चेतावनी यसै विज्ञप्तिमार्फत दिन चाहन्छ’, नेपाल तरुण दलका अध्यक्ष बस्नेतले भनेका छन् ।

देशभरि तरुण दलका नेता तथा कार्यकर्तामाथि आक्रमण र प्रहरी प्रशासनद्वारा दुःख दिने कार्य भइरहेका बेला धनुषामा तरुण दलका मिथिला नगर सदस्य महतोको हत्या भएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech