शिवमायालाई विद्या र केपीको साथः प्रचण्डलाई धोका, नेकपाभित्र विद्रोहको खतरा !

  |   प्रकाशित :

काठमाडौं । सभामुख चयनमा बाधक बनिरहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारी र पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको समेत समर्थन रहेको खुलेको छ ।

सुरुमा राष्ट्रपति भण्डारीको बलियो साथ पाएकी शिवमायालाई पछिल्लो समय ओलीले समेत मौन समर्थन गरेको नेकपानिकट उच्च स्रोतले बताएको छ । आफूले भनेको उम्मेदवार सुवास नेम्वाङलाई पूर्वमाओवादी समूहले सभामुख नमान्ने अवस्था तथा शिवमायाका पक्षमा राष्ट्रपति भण्डारीको चर्काे दबाबपछि ओलीले मौन समर्थन जनाएका हुन् । त्यसो त पछिल्लो समय नेकपाभित्र ओली समूहलाई राष्ट्रपति भण्डारीभित्र उपगुटका रुपमा बुझिन्छ । हरेक निर्णयमा राष्ट्रपति भण्डारीको बलियो प्रभाव हुने गरेको छ ।

विगतमा नेपाल प्रहरीको आइजिपी नियुक्तिमा पनि राष्ट्रपतिको दबाब चर्काे थियो । राष्ट्रपतिले आफ्नो नाता पर्ने एआइजी पुष्कर कार्कीलाई आइजी बनाउन भएभरको बल लगाएकी थिइन् । रमेश खरेललाई बनाउने पक्षमा रहेका प्रधानमन्त्री ओली पनि राष्ट्रपतिको दबाबसामु गलिसकेका थिए । तर, त्यतिखेर भागवण्डामा नेपाल प्रहरीको आइजिपी पूर्वमाओवादी समूहमा गयो ।

भर्खर पार्टीको एकता भइरहेको अवस्था र नेपाल प्रहरीको आइजिपीमा माओवादीको कडा अडानले त्यतिखेर राष्ट्रपति समेत पछि हटिन र माओवादीको कोटाबाट अहिले आइजिपी सर्वेन्द्र खनाल नियुक्त भएका थिए । तर, एकता भइसकेपछि पछिल्लो समय निरन्तर माओवादी समूहलाई पेल्दै गइरहेको देखिन्छ । यस्तैमा पूर्वमाओवादीको भागमा परेको सभामुखमा पनि पूर्वएमाले समूह (विद्या र केपी) मिलेर हावी हुन खोजेको देखिएको छ ।

पछिल्लो विकसित घटनाले पार्टीभित्र प्रधानमन्त्री एवं वरिष्ठ अध्यक्ष ओलीबाट आफूमाथि धोका भएको महसुस अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । अर्काेतिर प्रचण्डलाई पूर्वमाओवादी नेताहरुले सभामुख कुनै हालतमा नछोड्न दबाब दिइरहेका छन् । यदि यसो भएमा पार्टीमा विद्रोह गर्ने उनीहरुको चेतावनी छ । केही नेताले प्रचण्ड छाडेर ओलीमा जानेदेखि पार्टी नै छोड्ने सम्मको चेतावनी दिएर प्रचण्डलाई दबाबमा पारेका छन् ।

केही नेता भने ओलीले प्रधानमन्त्री अथवा अध्यक्ष पद छाडेमा सभामुख छाड्न सकिने विकल्प प्रचण्डलाई दिएका छन् । पूर्वमाओवादी नेता हरिबोल गजुरेलले सबै पदमा एमालेलाई दिएमा एकताको कुनै अर्थ नहुने बताए । यदि पूर्वएमालेलाई सभामुख चाहिएको हो भने प्रचण्डलाई कि प्रधानमन्त्री वा कि एकल अध्यक्ष बनाउनुपर्ने उनको अडान छ । अन्यथा सभामुख कुनै हालतमा छोड्न नसकिने र जबरजस्ती गरे विद्रोहको अवस्था आउने चेतावनी गजुरेलले दिएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech