समृद्धिसँंग जोडिएको कर्णाली करिडोर जोखिम मोलेर खोलिँदै ट्र्याक

  |   प्रकाशित :

काठमाडौँ । कर्णाली प्रदेशको समृद्धिसँंग जोडिएको कर्णाली करिडोरको हुम्ला खण्डमा नेपाली सेना र श्रमिकहरूले ज्यानै जोखिममा राखेर सडक निर्माण कार्यलाई तीव्रता दिएका छन् । नेपाली सेनालाई जिम्मा लगाएको हुम्ला खण्डको सडकलाई प्रारम्भिक ट्र्याक खोल्ने कार्य आगामी असारभित्र सम्पन्न गर्नुपर्ने भएपछि सेनाले कामलाई तीव्रता दिएको हो ।

बिहान साढे छ बजेदेखि बेलुका अँध्यारो नहुँदासम्म चट्टान विस्फोटका लागि ‘होल’ खोप्ने काम गर्दै आएका सर्केगार्ड गाउँपालिका-४ का प्रेमबहादुर शाहीले निकै डरलाग्दो भीरमा ज्यान जोखिममा राखेर काम गरिरहेको बताएका छन् । डोरीले शरीर बाँधेर कडा चट्टानमा खोप्ने कार्य निकै जोखिमपूर्ण भए पनि कामदार कडा मेहनतका साथ काम गरिरहेको उनले जानकारी दिएका छन् । उनको समूहमा आठजना कामदार छन् । कर्णाली करिडोरको कवाडी सलीसल्ला खण्डको बालुकुनादेखि सलीसल्लासम्मको १२ किलोमिटर दूरीलाई निकै जोखिम क्षेत्र मानिएको छ । 

कडा चट्टानका साथै जमिन भिरालो र चट्टानी भीर भएका कारण माथिबाट ढुङ्गा खस्ने जोखिम छ । टाउकोमा हेलमेट, आँखामा चस्मा, खुट्टामा गमबुट, शरीरमा डोरी बाँधिएको अवस्थामा समयमै काम पूरा गर्न सडक निर्माणमा खटिएका स्थानीय मजदुर र नेपाली सेनाका जवान क्रियाशील छन् । सेनाले कर्णाली करिडोरअन्तर्गत काम सम्पन्न गरेको क्षेत्रमा सडक स्तरीय र चौडा रूपमा निर्माण भएको छ । हुम्ला खण्डमा निर्माणको कार्य धमाधम भइरहेको जिल्ला दक्षिणी क्षेत्रको अनुगमन गरेर आएका प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले जानकारी दिएका छन् । तर हुम्ला खण्डमा काम गर्ने मजदुरले निकै जोखिम लिएर काम गरिरहेको उनले बताए ।

सेनाले जिम्मा लिएको काम स्थानीय मजदुरको साथ लिएर प्रशंसनीय काम भएको उनले बताएका छन् । यही गतिमा काम भए हुम्ला जिल्लामा गाडी गुडाउन सफलता मिल्ने उनले विश्वास व्यक्त गरेका छन् ।  कर्णाली करिडोरको हुम्ला खण्डमा आधा दर्जन भीर फुटाउने कार्य एकसाथ भइरहेको र त्यो कार्य निकै जोखिम रहेको नेपाली सेनाका खुलालु, लैफु कवाडी हुँदै सलीसल्ला सडक आयोजनाका प्रमुख मेजर इन्जिनियर मिलन कार्कीले बताए । 

यसमा सलीसल्ला, नेरघार, खच्चा, पम्पडे, बालुकुनालगायतका कडा चट्टानी र असजिला भीर रहेको उनले बताएका छन् । कामदार र सेनाले रातदिन नभनी काममा खटिएको कारण चालू आर्थिक वर्षभित्रै हुम्ला खण्डको प्रारम्भिक ट्र्याक खोल्ने कार्य सम्पन्न गरेर गाडी गुडाउनका लागि सेना लागिपरेको उनले बताए । करिडोरका कवाडीदेखि सलीसल्लसम्मको ६१ किलोमिटर सडक निर्माणका लागि नेपाली सेनाका २१० जना र अन्य कामदार गरी ३५० जना रहेको बताउँदै कार्कीले १९ वटा होल खोप्ने मेसिनबाट काम भइरहेको जानकारी दिएका छन् । गोरखापत्र दैनिकबाट

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech