व्यक्तिको नाममा हड्पिएको ललितानिवासको चार सय कित्ता फिर्ता गर्ने प्रस्ताव

  |   प्रकाशित :

काठमाडौं । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिको नाममा हड्पिएको ललितानिवासको करिब चार सय कित्ता सरकारी जग्गा सरकारको स्वामित्वमा फिर्ता ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ।

मन्त्रालय स्रोतका अनुसार एक–दुई दिनमै मन्त्रिपरिषद्मा यस्तो प्रस्ताव लगिने भएको छ। मन्त्रालय स्रोतका अनुसार भूमि व्यवस्था मन्त्रालयद्वारा मन्त्रिपरिषद्मा लगिने प्रस्तावमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायधीश कुमार रेग्मीको नाममा रहेको जग्गाको हकमा भने मन्त्रिपरिषद्मा लगिने प्रस्तावमा केही कुरा उल्लेख हुने छैन। शुक्रबारमात्र पौडेल र रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सुटुक्क सरकारको नाममा नामसारी भएको थियो।

मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुअघि नै पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकारको स्वामित्वमा फिर्ता भएकाले उक्त जग्गाको विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुपर्ने आवश्यक नभएको मन्त्रालयका एक उच्चकर्मचारी बताउँछन्। ती कर्मचारीका अनुसार ‘त्यसैले हतार हतारमा शुक्रबार पौडेल र रेग्मीको नामको रहेको जग्गा सरकारको नाममा नामसारी भएको हो।’

पौडेल र रेग्मीको नाममा रहेको जग्गा शुक्रबार साँझसम्म सरकारको नाममा नामसारी गर्न भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिएकी थिइन्। मन्त्रालयका उच्च कर्मचारीहरूको निर्देशनमा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीले पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकारको नाममा दर्ता गरेका थिए।

मन्त्रिपरिषद्को २०७५ फागुन २८ को बैठकले व्यक्तिको नाममा हड्पिएको ललितानिवासको जग्गा सरकारको स्वामित्वमा फिर्ता लग्ने प्रस्ताव ६ महिनाभित्र मन्त्रिपरिषद्मा ल्याउन भूमि व्यवस्थालाई निर्देशन दिएको थियो तर भूमि व्यवस्था मन्त्रालयले अहिलेसम्म उक्त प्रस्ताव मन्त्रिपरिषद्मा नलगेको आजको नागरिक दैनिकमा खवर छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech