घरमा एक मुठी अन्न छैन, सिस्नु र कन्दमूल पनि सकियो, अव के खाने ?

  |   प्रकाशित :

बझाङ । घरमा एक मुठी अन्न छैन, भएको सबै अन्नपात सकियो। ३ महिनादेखि गाउँमा एक मुठी अन्न भित्रिएको छैन । बिहानको छाक के खाएर काट्ने भन्ने चिन्ताले रातो दिन सताएको साइपाल गाउँपालिका–५ का स्थानीय रामबहादुर बोहराको भनाइ छ ।

‘खेतीबाट उब्जिएको अन्नले दुई महिना खान पुग्दैन, सधैं किनेर खाने गरेको छु,’ उनले भने, ‘मंसिर २८ पछि लगातार ७ पटक हिमपात भएकाले बाटोभरि चार फिटभन्दा बढी हिउँ जमेको छ । खच्चड, भेडा र मान्छेले खाद्यान्न ढुवानी गर्न अझै दुई महिनायता सम्भव छैन । खान नपाएर अब भोकभोकै मरिने भइयो ।’

‘भोकभोकै कति दिन बस्ने, सास अड्याउन केही न केही त खानै प९यो, खेतबारीमा उम्रेको सिस्नो, आलु, कन्दमूल खाँदै जेनतेन बाँचेका छौं, त्यो पनि सकियो । राज्यले हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्छ कि भन्ने आसले आकास हेर्दाहेर्दै आँखा थाकिसके, हामी गाउँवासी पुरै हिउँको जेलमा रहेका छौं,’ जगेराका जगत रोकायाले पीडा पोखे । उनले गाउँमा चिसोले गर्दा भोकसँगै विभिन्न रोगले महिला, बालबालिका र वृद्ध्रवृद्धा थलिएको बताए। ‘स्वास्थ्य चौकीमा औषधि अभाव छ। यसरी कति दिन बाँचिएला। अरू नदिए पनि हामीलाई खाद्यान्न सरकारले दिए हुनेथियो। यो वर्ष नसोचेकै हिमपात भयो,’ उनले थपे।

जिल्लाको सबैभन्दा विकट, सडक सञ्जालले पनि नछोएको साइपाल गाउँपालिका–३, ४ र ५ वडाका धुली, बलौडी, जगेरा, काया, न्युना र काँडाका ५ सय परिवारका करिब १५ सयभन्दा बढी सदस्य खाद्यान्न अभावको पीडा झेलिरहेका छन्। यसका लागि राज्यले कुनै पनि चाँसो नदेखाएको भन्दै नागरिक समाजले समेत आपत्ति जनाएको छ। गाउँपालिकाभित्रका ३, ४ र ५ वडामा जाने वैकल्पिक मार्ग छैन। सधैं हिँड्ने बाटोमा हिउँ जमेर मान्छे हिँड्नसमेत मुस्किल हुने भएको छ। खाद्यान्न ढुवानी गर्ने भनेको भेडा र खच्चरबाट हो, त्यो पनि अहिले सम्भव छैन।नागरिक दैनिकबाट

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech