काठमाडौंको सडकमा उत्रेर किन रोइन चिनियाँ राजदूत ?

  |   प्रकाशित :

काठमाडौं । बुधबार काठमाडौंको सडकमा अनौठो दृश्य देखियो । जहाँ चिनियाँ राजदूत भावुक अवस्थामा थिइन् । प्रसंग थियो ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरले आयोजना गरेको हामी साथमा छौं कार्यक्रमको । जहाँ चिनियाँ राजदूत होउ यान्छी, भूमीसुधारमन्त्री पद्मा अर्याल, नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला, नेकपाका नेताहरु आनन्द पोखरेल, यज्ञराज सुनुवारलगायत सहभागी थिए ।

आम नेपाली सर्वसाधारण पनि थिए । सर्वसाधारण तथा नेताबाट हामी साथमा छौं भन्ने सदभाव, साथ र समर्थन पाएपछि चिनियाँ राजदूत भावुक बनेकी हुन् । स्थान थियो माइतीघर मण्डला । कोरोना भाइरसको आतंकसँग लडिरहेको चीन विश्वमा एक्लिरहेका बेला छिमेकी नेपालको बलियो साथ पाइरहेको छ । यसैसन्दर्भमा नागरिकबाट जनस्तरबाट समेत समर्थन पाएपछि चिनियाँ राजदूत भावविभोर बनिन् । नेपालीको माया प्रत्यक्ष देखेपछि उनले आफूलाई सम्हाल्न सकिनन् । दुबै हात जोडेर नेपालीप्रति नतमस्तक हुँदै उनले कोरोना भाइरसविरुद्ध चीनको लडाईमा नेपालको सहयोगको सह्राना गरिन् ।

चिनियाँ राजदूत भावुक हुँदा त्यहाँ उपस्थित अन्य व्यक्तित्वहरु पनि भावुक बनेका थिए । आयोजक ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरका अध्यक्ष डा। कल्याणराज शर्माले उत्तरी छिमेकी मुलुक चीनसँग नेपालको सदियौं पुरानो आत्मीय सम्बन्ध छ । चीनको यो पीडामा हामी नेपालीहरु साथ र सहयोग गर्न तत्पर छौं भनेर सन्देश दिन कार्यक्रम आयोजना गरेको बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech