ओलीसँग कुनै सम्झौता गरेको छैन्, अब सशक्त आन्दोलन छेड्छौँः सभापति देउवा

  |   प्रकाशित :

काठमाडौं । बुधबार बसेको नेपाली कांग्रेस पार्टी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन् ।  

उनले सरकार गठन भएको दुई वर्ष पूरा भएको र यो बीचमा सरकारले देश र जनताको हितमा खासै काम गर्न नसकेको आरोप लगाउँदै सरकारविरुद्ध अब सशक्त आन्दोलन छेड्ने घोषणा गरेका छन् । उनले भने,‘अब सरकारविरुद्ध सशक्त रुपमा उत्रिनुपर्छ । अब सरकारले गरेका हरेक गलत कामको भण्डाफोर गर्नुपर्छ ।’

कांग्रेसले सरकारका गलत क्रियाकलापविरूद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णयसमेत गरेको छ । सरकारले राजनीतिक पूर्वाग्रह राखेर भिन्न राजनीतिक आस्था राख्ने नेता तथा कार्यकर्तालाई सुनियोजित रूपमा मुद्दा लगाएको भन्दै विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो।

पछिल्लो समय उनीमाथि सरकारसँग सम्झौता गरेको आरोप लाग्ने गरेको छ । उनीमाथि विभिन्न नियुक्तीको लागि आफ्ना मान्छेलाई प्रधानमन्त्री ओलीसमक्ष सिफारिश गर्ने गरेको आरोप लागेको छ । 

हालै उनले अख्तियारको आयुक्तको लागि पनि प्रधानमन्त्री ओलीसँग बार्गेनिङ गरेको गाँईगुँई चलेको थियो । तर, उनले हिजोको केन्द्रिय कमिटी बैठकमा यी सबै आरोप र हल्लामा कुनै सत्यता नभएको जिकिर गरेका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech