ठेकेदारलाई संरक्षण गर्दै सरकारले ८६ अर्बका साढे ११ सय ठेक्का अलपत्र पार्‍यो

  |   प्रकाशित :

काठमाडौं : सरकारले ठेकेदारलाई संरक्षण गर्दा जनताले तिरेको कर र दाताको सहायतामा अघि बढेका ८६ अर्ब रुपैयाँ बराबरका विकास आयोजनाका ठेक्का अलपत्र परेको छ। 

सम्झौताअनुसार यी आयोजनाको निर्माण अवधि सकिइसकेको छ। ११५३ वटा आयोजनालाई अघि बढाउनुको सट्टा सरकारले रुग्णको सूचीमा राखेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लो माघमा गरेको अध्ययनअनुसार १ खर्ब १८ अर्ब १ करोड रुपैयाँ बराबरका विकास आयोजनाहरु समयमा काम नभएर रुग्ण अवस्थामा रहेको पाइएको थियो। 

ग्रामिण क्षेत्रमा सुत्केरी गराउने बर्थिङ सेन्टरजस्ता अति महत्वपूर्ण कामदेखि राजमार्ग, खानेपानी, पुल, सडक र विद्युत प्रसारण लाईनजस्ता महत्वपूर्ण कामलाई ठेकेदारले अलपत्र पारेको छ। यसरी काम नगर्ने ठेकेदारमाथि न सरकारले कडा कारबाही गर्न सकेको छ, न त कारबाही नै गरेको छ। 

रुग्णमध्ये एक बर्षको अवधिमा ६१८ वटा आयोजनाको काम भने सम्पन्न भएको छ। सरकारले यसबीचमा २८ वटा ठेक्का सम्झौता तोडेको छ। तर ८६ अर्ब ४४ करोड रुपैयाँ बराबरका १२०२ आयोजना अलपत्र छन्। 

यसबीचमा सरकारले काम नगर्ने ठेकेदारलाई उल्टै पुरस्कार दिएजस्तो गरी ४९ वटा आयोजनाको ठेक्का म्याद थपेको छ। तर अन्य आयोजनाको न त म्याद थपिएको छ, न त ठेक्का सम्झौता नै तोडिएको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech