नेकपामा रडाको मच्चियो,पूर्व-माओवादीलाई भित्तामा पुर्याउने सपना देखेको आरोप

  |   प्रकाशित :

फागुन २,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा पूर्व-एमाले र पूर्व-माओवादी समूह बीच मत भिन्नता बढेको छ । पार्टी एकता भएको लामो समय भर्इसक्दा पनि व्यवहारमा भने एकता देखिँदैन । खासगरी नेकपामा पूर्व-एमाले समूह माओवादी समूह विरुद्ध सिलसिलेवार प्रहार गरिरहेको देखिन्छ । 

पूर्व-एमाले भित्र पनि नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूह पूर्व-माओवादी विरुद्ध आक्रामक रणनीतिमा देखिन्छ । यो समूहले पूर्व-माओवादीको अस्तित्वलाई स्वीकार नै गरेको देखिँदैन । स्वयं वलिले बारम्बार पूर्व-माओवादीको जनयुद्ध दिवस बहिष्कार गर्नु ,नौलो जनवादलाई अीस्वकार गर्नु, सल्लाहकारहरुले पूर्व-माओवादी नेताविरुद्ध अभिव्यक्ति दिनु र नेकपामा आफूलाई नै ठूलो ठान्ने व्यवहारले पूर्व-माओवादी समूह आजित बनेको छ । यसको असर तल्लो तहको कार्यकर्तामा समेत परिरहेको छ । 

गत फागुन १ गतेको जनयुद्ध दिवसको सन्दर्भमा पनि पूर्व-एमाले र पूर्व-   माओवादीबीच चरम विभाजन देखियो । माओवादीको जनयुद्धलाई पूर्व-एमाले समूहका प्रधानमन्त्री देखि, सल्लाहकार, नेता सम्मले स्वीकार गरेनन् । केहीले त उल्टै आलोचना गरेर पूर्व-माओवादीलाई जसरी हुन्छ भित्तामा पुर्याउने काम गरे । 

यसमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायत रहेका छन् । प्रमका प्रेस सल्लाहकार थापाले माओवादी जनयुद्ध फाँसीवादी र आतंककारी गतिविधि भएको बताएका छन् । साथैे उनले माओवादी जनयुद्धकै कारण देश ५० वर्ष पछाडि धकेलिएको भनेर पूर्व-माओवादी नेतृत्वको जनयुद्धको कडा आलोचना गरेका छन् ।

त्यसैगरी नेकपाका नेता एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनयुद्ध दिवसमा प्रचण्डले दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । उनले यसबाट पार्टीलाई नै घाटा हुने चेतावनी समेत दिएका छन् । यद्यपि ओली समूह बाहेक पूर्व-एमालेका वामदेव गौतमले भने जनयुद्धको जोडदार समर्थन गर्दै आएका छन् । 

पूर्व(एमालेको ओली समूहको निरन्तर प्रहारविरुद्ध पूर्व-माओवादी समूहका वाइसिएल अध्यक्ष दिपशिखा लगायत नेताहरुले प्रतिवाद समेत गर्दै आएका छन् । यसअघि प्रधानमन्त्रीका सल्लाहकार थापाले प्रचण्डको आलोचना गर्दा दिपशिखाले कडा प्रतिवाद गरेका थिए । पूर्व-माओवादीलाई भित्तामा पुर्याउने सपना नदेख्न उनले चेतावनी दिएका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech