कोरोना संकट : साउदीले धार्मिक यात्रामा प्रतिबन्ध लगायो, श्रद्धालु मक्का जान नपाउने

  |   प्रकाशित :

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न साउदी अरबले देशभर धार्मिक यात्रामा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्धसँगै मुस्लिम धर्मालम्बीहरु पवित्र तीर्थस्थल मक्का समेत जान नपाउने भएका छन्। 

साउदीले मक्का मदिनामा आउन लागेका यात्रीहरुको प्रवेशमा रोक लगाइदिएको हो। बिहीबार त्यहाँको विदेश मन्त्रालयले मक्का र मदिनासमेत सबै धार्मिक स्थलहरुमा हुने यात्रामा अस्थायी रोक लगाइदिएको छ।कोरोना संक्रमण रोक्नका लागि पछिल्लो निर्णय लिइएको साउदी सरकारले जनाएको छ। 

कोरोनाकै कारण साउदीले अन्य देशबाट आउने पर्यटकहरुको प्रवेश समेत रोकिदिएको छ। साउदीको विदेश मन्त्रालयले भनेको छ, कोरोना संक्रमण नियन्त्रणका लागि अन्तर्राष्ट्रिस्तरमा चालिएको कदममा हाम्रो समर्थन छ, हामी हाम्रा नागरिकलाई दोस्रो देशमा जानुअघि स्वास्थ्य परीक्षण गराउन र कोरोना प्रभावित मुलुकमा नजान आग्रह गर्छौं। 

कोरोना संक्रमणका कारण साउदी अरब यतिखेर हज यात्रालाई लिएर चिन्तित बनेको छ। हज यात्रामा विश्वभरबाट लाखौं श्रद्धालुहरु साउदी अरब पुग्ने गर्छन्। यस बर्षपनि जुलाई र अगस्तका १० दिनसम्म साउदीमा हजयात्रा तोकिएको छ। 

कोरोना भाइरस विश्वभर फैलिएको छ। चीनबाहिर पनि कैयौं देशहरुमा कोरोनाका कारण ज्यान गुमाउने मानिसहरुको संख्या बढिरहेको छ। चीनमा मात्रै झण्डै तीन हजार मानिसहरुको मृत्यु भइसकेको छ। खाडी देशहरुमा पनि अहिलेसम्म करिब २५० जना मानिसहरुमा कोरोना संक्रमण भएको अनुमान छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech