थाइल्यान्डमा जारी टी-ट्वान्टीकाे दोस्रो खेलमा पनि नेपाल पराजित

  |   प्रकाशित :

काठमाडौं । थाइल्यान्ड क्रिकेट मैदानमा भएको एसीसी इर्स्टन रिजन टी-२० क्रिकेट कपकाे दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ । 

टस हारेर पहिलो ब्याटिङ गरेको हङ्कङले नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको थियो । तर, जवाफि ब्याटिङ गरेको नेपालले १८।१ ओभरमा १० विकेट गुमाएर जम्मा १ सय १० रन बनायो ।

पहिलो खेलमा पनि मलेसियाविरुद्ध १५५ रनको लक्ष्य पछ्याउँदा नेपालको ब्याटिङ कमजोर थियो र २२ रनले पराजित भयो । लगातार दोस्रो हारसँगै शीर्ष दुईमा रहेर एसिया कप छनोट पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालको सुरुवात राम्रै थियो । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल मल्लले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । तर पाँचौं ओभरको चौथो बलमा कुशल व्यक्तिगत १९ रनमा आउट भए ।

पावर प्ले सकिँदा नेपालले १ विकेट गुमाएर ४९ रन बनाएको थियो । तर त्यसपछि नेपालले ६२ रन जोड्दा ९ विकेट गुमायो । पारस खड्का ४, उपकप्तान दीपेन्द्र सिंह ऐरी ५, पवन सर्राफ १ र विनोद भण्डारी ५ रन बनाएर आउट भए ।

१५औं ओभरको तेस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि नेपालको सम्भावना क्षिण बनेको थियो । ज्ञानेन्द्र ४६ रनमा आउट हुँदा नेपाल ९०।६ को अवस्थामा पुग्यो । करण केसी ७ रन बनाएर आउट भए भने सन्दीप लामिछानेले नै खाता खोल्न सकेनन् । आरिफ शेख १० रन बनाएर आउट भए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङका लागि हारुन अर्सदले ३।१ ओभरमा १६ रन खर्चेर ५ विकेट लिए । अफताव हुसेनले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । एहसान खानले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

यसअघि शनिबार भएको पहिलो खेलमा मलेसियाले नेपाललाई समान १ सय ५५ रनको लक्ष्य दिएको थियो भने नेपालले सबै विकेट गुमाएर मात्रै १ सय ३२ रन बनाएपछि २२ रनले पराजित भएको थियो ।

लगातार दोस्रो हारसँग अब एसिया कप क्वालिफायर पुग्ने सम्भावना घटेको छ । यद्यपी अंक गणितका आधारमा भने सम्भावना बाँकी नै छ । अब नेपालले थाइल्यान्ड र सिंगापुरसँग खेल्न बाँकी छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech