कोरोनाबाट बच्न विमानस्थल र सीमामा हेल्थ डेस्क बढाउने, ८४ मुलुकमा कोरोनाको संक्रमण

  |   प्रकाशित :

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस छिमेकी मुलुक भारतमा समेत देखिएको भन्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विमानस्थल र सीमामा हेल्थ डेस्क बढाउने निर्णय गरेको छ ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बसेको बैठकले मास्क र औषधिको आपूर्तिमा समस्या पर्न नदिने गरी उत्पादनलाई बृद्धि गर्ने समेत निर्णय गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघसँगको समन्वयमा उत्पादन बढाउने निर्णय गरिएको उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

८४ मुलुकमा कोरोनाको संक्रमण, ३३ सय जनाको मृत्यु

कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय ८५ पुगेको छ। ८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी ३ हजार १२ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार ४ सय ३० मानिस संक्रमित भएका छन् ।

चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भईसकेको छ । २ सय ७३ मध्ये ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृत्यु भएको छ । चीन बाहिर सबैभन्दा धेरै इटालीमा १ सय ७ जनाको मृत्यु भएको छ । त्यहाँ एकैदिन २८ जना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको हो ।

मृत्यु हुनेको संख्या १ सय ७ पुगेसँगै इटालीका सबै बिद्यालयहरु अनिश्चिकालका बन्द गरिएको बीबीसीले जनाएको छ । इटालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ८९ पुगेको छ । इरानमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । थप १५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९२ पुगेको हो । त्यहाँ २९ सय २२ जनामा संक्रमण देखिएको छ ।

दक्षिण कोरियामा ३५ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या अहिलेसम्म ५६ सय २१ छ । अमेरिकामा अरु २ जना संक्रमितको समेत मृत्यु भएपछि कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । अरु १ सय ५८ जना संक्रमितको अवस्था पनि गम्भिर नै रहेको बताइएको छ ।

जापानमा ६ जना, फ्रान्समा ४ जना, हङकङ, स्पेन, इराक र अष्ट्रेलियामा २र२ जनाको मृत्यु भएको छ । थाइल्याण्ड, सनमारिनो, फिलिपिन्स र ताइवान १र१ जनाको मृत्यु भएको छ । चीनबाहिर १४ हजार ९ सय २ जनामा कोरोनाको संक्रमण देखिएको छ भने उपचारपछि घर फर्कने मानिसको संख्या ५३ हजार ६ सय ८८ छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech