कोरोना रोकथामबारे कांग्रेसले माग्यो सरकारको जवाफ

  |   प्रकाशित :

विराटनगर । बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेश १ मा नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथामका लागि भइरहेको प्रयासको जानकारी माग गरेको छ ।

कांग्रेसका मुख्य सचेतक केदार कार्कीले कोरोना भाइरस (कोभिड १९) बाट विश्व त्रस्त रहेका अवस्थामा प्रदेशमा यसको रोकथाम र सतर्कताका लागि के भइरहेको छ भनी सरकारसँग जानकारी मागेका हुन् ।

कार्कीले कोरोना भाइरस (कोभिड १९) बाट विश्व त्रस्त रहेको अवस्थामा अफवाहको भरमा गलत क्रियाकलाप र कालोबजारी सुरु भएको पनि बताए ।

‘संक्रमण देखिए भारतले सीमा लक गर्छ । दबाइ पठाउन छाड्यो । ग्यासको अभाव सुरु भयो । सरकार के गर्दैछ ? खाद्यान्न छ कि छैन ? हामीसँग बोर्डरमा चेक गर्ने मेसिन, लगाउने उपकरण पोसाक छ कि छैन ?’ उनले भने ।

८४ मुलुकमा कोरोनाको संक्रमण

कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय ८५ पुगेको छ। ८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी ३ हजार १२ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार ४ सय ३० मानिस संक्रमित भएका छन् ।

चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भईसकेको छ । २ सय ७३ मध्ये ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृत्यु भएको छ । चीन बाहिर सबैभन्दा धेरै इटालीमा १ सय ७ जनाको मृत्यु भएको छ । त्यहाँ एकैदिन २८ जना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech