१५ सय तालिबानी कैदीलाई रिहा गर्न राष्ट्रपति घानीको स्वीकृति

  |   प्रकाशित :

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले १५ सय तालिबानी कैदीलाई रिहा गर्न स्वीकृति दिएका छन् । 

फेब्रुअरी २९ मा संयुक्त राज्य अमेरिका र तालिबानी समूहबीचको शान्ति सम्झौताबमोजिम अफगानिस्तानमा शान्ति स्थापना गर्न तालिबानी समूहका लडाकुलाई रिहा गर्न स्वीकृति प्रदान गरेका हुन् । 

राष्ट्रपति घानीले रिहा गरिएका सम्पूर्ण तालिबानी कैदीले फेरि युद्धमा नफर्किने सुनिश्‍चितताका लागि लिखित पत्र दिनुपर्ने सर्त राखेका छन् । आफ्ना लडाकुको रिहाको बदलामा तालिबानी समूहको कब्जामा रहेका एक हजार सरकारी अधिकारीलाई छोडिदिने विषयमा तालिबानी सहमत भएको छ । 

संयुक्त राज्य अमेरिका आफ्ना सैनिक फिर्ता लिन तयार भएपछि तालिबानी समूह अमेरिकासँगको सम्झौतामा आएको हो । राष्ट्रपति घानीले स्वीकृति प्रदान गरेसँगै १५०० तालिबानी कैदीलाई आगामी १५ दिनसम्म रिहा गरिने भएको छ । जसमा हरेक दिन एक सय तालिबानी कैदीलाई छोडिनेछ । 

तालिबानी कैदीलाई रिहा गरेसँगै हरेक तालिबान/अफगान वार्ता पनि अघि बढ्ने भएको छ । हरेक दुई सातामा पाँच सय कैदीलाई छोडिने भएको छ । अफगान सरकारको नियन्त्रणमा करिब पाँच हजार तालिबानी लडाकु छन् । 

यसअघि अमेरिकासँगको भएको सम्झौता अनुसार तालिबानी समूहले हिंसा र विस्फोट कम गर्नुपर्ने र अलकाइदा तथा अन्य अतिवादी समूहमाथि प्रतिबन्ध लगाउनुपर्नेछ ।- बीबीसी 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech